२८ जेठ २०८३, बिहीबार

होटललाई ‘पे­-आइसोलेसन’ बनाउने तयारी

होटललाई ‘पे­-आइसोलेसन’ बनाउने तयारी

कोभिड–१९ को जोखिम बढ्दै जाँदा आइसोलेशन वार्डको अभाव हुन सक्ने जनाउँदै महानगरपालिकाले पोखराका केही होटललाई ‘पे­आइशोलेशन’का रुपमा प्रयोग गर्ने तयारी गरेको छ ।

महानगर प्रमुख मानबहादुर जिसीले लक्षणविना सङ्क्रमण देखिएका र अस्पताल लानुपर्ने अवस्था नभएका सङ्क्रमित पैसा तिरेर होटलमा बस्न चाहन्छन् भने  ‘पे­आइशोलेशन’का लागि होटल प्रयोग गर्न सकिने बताए ।

उनका अनुसार अहिले कृषि तालिम केन्द्रलाई ४० शय्याको आइसोलेसन वार्डका रूपमा विकसित गरिएको र अब छिट्टै होटलहरुलाई पनि ‘पे आइशोलेशन’का रुपमा प्रयोग गर्न सम्बन्धित होटलवालासँग छलफल भइरहेको छ ।

उनले हाल महानगरको सहकार्यमा ‘पे क्वारेन्टीन’ मात्र सञ्चालन गरिएको र करिब चार सय जनाले यसको सुविधा लिएको जानकारी दिए ।

‘पे क्वारेन्टीन’मा बस्नेहरुका लागि एक दिनको रू एक हजारदेखि रू दुई हजारसम्म मूल्य तोकिएको प्रमुख जिसीले बताए ।

पोखरा महानगरले कृषि तालिम केन्द्र, मालेपाटन, पदम नर्सिङ होम, लेकसिटी ब्लक बी र र्‍यालेचौर बेंसी क्वारेन्टीन गरी अहिलेसम्म २२३ शय्याको चार क्वारेन्टीन सञ्चालन गरेको छ । ती क्वारेन्टीनमा बस्न सकिने एक हजार २२७  जनामध्ये हाल जम्मा ७० जनामा मात्र  छन् भने अरु घर फर्किसकेका छन् । 

महानगरको क्वारेन्टीनमा  विशेषगरी घरमा बस्ने वातावरण नभएको र होटलमा बस्ने आर्थिक अवस्था नभएकाहरु राखिने गरेको महानगरका स्वास्थ्य महाशाखाका सिनियर अहेव अर्जुन क्षेत्रीले जानकारी दिए ।

उहाँका अनुसार विदेशबाट आएर स्वेच्छाले आफ्नै खर्चमा सुविधासम्पन्न होटलमा बस्न चाहनेहरुका लागि महानगरको सहकार्यमा पोखराका  २४  होटलले सो सुविधा उपलब्ध गराएका छन् ।

त्यसैगरी महानगरले बुद्ध हस्पिटल नदीपुरमा महिलाका लागि पनि छुट्टै ५० शय्याको क्वारेन्टीन सञ्चालन गरेकाे  छ । 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाल दुई  भेन्टिलेटर र ११ आइसियु शय्या  छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माका अनुसार हालसम्म ३९ हजार ९२१ को नमूना सङ्कलन भएको छ । यसमा सङ्क्रमतिको सङ्ख्या एक हजार ८८९  छ ।

गण्डकीमा ८३० क्वारेन्टीन  छन् भने २६१ आइसोलेशन छन् । भारत र तेस्रो मुलुकबाट आउनेको सङ्ख्या १९ हजार ३१५ रहेको छ । जमुनावर्षा शर्मा / रासस

salt training

कमेन्ट गर्नुहोस्