२१ जेठ २०८३, बिहीबार

संक्रमित बढ्दै जाँदा राजधानीमा कसरी हुँदैछ आइसोलेसनको व्यवस्थापन ?

भदौ ८, २०७७
संक्रमित बढ्दै जाँदा राजधानीमा कसरी हुँदैछ आइसोलेसनको व्यवस्थापन ?
सांकेतिक तस्वीर

काठमाडौं उपत्यका लगायत देशभर कोरोनाभाइरसको संक्रमण बढ्दै गएको छ । कोरोना संक्रमण बढ्दै गएपछि देशभरमा क्वारेन्टीन तथा आइसोलेसनको संख्या घट्दै गएको छ । 

कोरोनाको केन्द्रबिन्दु बन्दै गरेको काठमाडौंमा कति आइसोलेसन र क्वारेन्टीन आवश्यक पर्ने पर्ने हो ? कति बनाउनु पर्छ ? भन्ने कुनै सरकारी योजना देखिँदैन । स्वास्थ्य मन्त्रालयसँग पनि एकिन योजना रहेको देखिँदैन । 

आवश्यता अनुसार आइसोलन बेडहरू बनाउँदै अगाडि जाने स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतम बताउँछन् । 

‘यति संख्या भन्दा पनि आवश्यकता अनुसार थप्दै जाने हो । कति आवश्यकता पर्छ भन्ने थाहा हुँदैन,’ प्रा. डा. गौतमले लोकान्तरसँग भने । 

उपत्यकामा देशभरका मानिस बस्ने भएकाले एकीकृत रूपमा क्वारेन्टीनको व्यवस्था गर्न लागेको र यतिउति भन्ने संख्या नभएको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताए ।

‘काठमाडौं महानगरपालिकाले भन्दा पनि उपत्यकामा देशभरका मानिसहरू हुने भएकाले केन्द्र, प्रदेश र स्थानीय तह मिलेर आइसोलेसन र क्वारेन्टीनको व्यवस्था गर्दैछौं, संख्या एकिन छैन,’ मेयर शाक्यले लोकान्तरसँग भने ।

सरकारले पछिल्लो समय उपत्यका रहेका होटल, लजहरूलाई क्वारेन्टीनको रूपमा विस्तार गर्नका लागि निर्देशन दिएको थियो । यसैअनुसार विदेशबाट उद्धार गरेर ल्याइएका नेपालीलाई होल्डिङ सेन्टरमा राख्दै आएको छ भने होटलमा क्वारेन्टीनमा बसेको मूल्यसूची समेत सार्वजनिक गरको छ ।

विषेश गरेर पछिल्लो समयमा कोरोनाको केन्द्रबिन्दु (हट स्पट) बन्दै गएको काठमाडौं उपत्यकामा एकीकृत क्वारेन्टीन बनाउनका लागि भदौ ४ गते बसेको मन्त्रिपरिषदको बैठकले गृह सचिव महेश्वर न्यौपानेको संयोजकत्वमा काठमाडौं, ललितपुर र भक्तपुरमा क्वारेन्टीन व्यवस्थापन तथा प्रबन्ध गर्न एकीकृत क्वारेन्टीन व्यवस्थापन समिति गठन गरेको थियो । 

मन्त्रिपरिषदले समितिमा गृह मन्त्रालयका सचिव संयोजक रहने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ११ वा १२ तहका कर्मचारी सदस्य, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तोकेका सहसचिव सदस्य, महानिर्देशक, शहरी विकास तथा भवन निर्माण विभाग सदस्य, प्रमुख जिल्ला अधिकारी, काठमाडौं, ललितपुर र भक्तपुर सदस्य, सबै सुरक्षा निकायका उपत्यका हेर्ने राजपत्रांकित प्रथम श्रेणी सरहका पदाधिकारी सदस्य, काठमाडौं उपत्यकास्थित क्वारेन्टीन रहने स्थानीय तहको प्रमुखले तोकेका प्रतिनिधि सदस्य र सहसचिव, गृह मन्त्रालय सदस्य सचिव निर्णय गरेको थियो । 

‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा रहेका सरकारी अस्पताल, आवश्यकताअनुसार अन्य निजी, सामुदायिक एवं शिक्षण अस्पताल र स्वास्थ्य प्रतिष्ठान समेतलाई प्रयोगमा ल्याई  कम्तीमा ६,००० आइसोलेसन बेडको प्रबन्ध गर्ने । आवश्यकतानुसार थप गर्दै जाने । काठमाडौं उपत्यका बाहेक अन्य जिल्लामा प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सङ्क्रमण जोखिमको विश्लेषणका आधारमा आइसोलेसन बेडको प्रबन्ध गर्ने । यसका लागि प्रदेश कोभिड–१ सङ्कट व्यवस्थापन केन्द्र (पीसीसीएमसी) र जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले आवश्यक समन्वय गर्ने । आइसोलेसन बेडको व्यवस्था र सञ्चालनका लागि आवश्यक बजेट प्रदेश कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट उपलब्ध गराउने । आइसोलेसन स्थलको सुरक्षा प्रबन्ध नेपाली सेनाले गर्ने,’ गरी निर्णय गरेको थियो ।

दैनिक स्वास्थ्य जाँच आवश्यक परेको खण्डमा डाक्टरः प्रा.डा गौतम


उपत्यका एकीकृतरूपमा स्थापना गर्न लागिएको आइसोलेनमा दैनिक स्वास्थ्य जाँचदेखि आवश्यक परेको खण्डमा डाक्टर समेत उपलब्ध हुने गरी व्यवस्थापन गर्न लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले  बताए ।

‘क्वारेन्टीनमा हामीले दैनिक स्वास्थ्य जाँचसहित आवश्यक परेको खण्डमा डाक्टर समेत उपलब्ध गराएका छौं र गराउने छौं,’ प्रा.डा. गौतमले लोकान्तरसँग भने, ‘आइसोलेसनमा बस्ने खान व्यवस्था हुन्छ । बिहान बेलुका रक्तचाप हेर्ने, सुगर लगायतका सामान्य परीक्षण गर्ने स्वास्थ्यकर्मी सहितको व्यवस्था हुन्छ ।’

यस्तै इमरजेन्सी पर्नसक्ने सम्भावनालाई ख्याल गरेर अक्सिजनको व्यवस्था गरिएको  छ । यदि बिरामीलाई आवश्यक परेको खण्डमा अक्सिजन लगाएर अस्पताल पठाउने व्यवस्था हुने प्रवक्ता प्रा.डा. गौतमले बताए ।

प्रवक्ता गौतमका अनुसार  अहिले उपत्यकाका कीर्तिपुर, दहचोक, मनमोहन कलेज, इचंगु नारायण, खरीपाटी लगायतका ठाउँमा आइसोलेसन छन् भने आवश्यकता अनुसार  संख्यामा थप्दै लैजाने योजना गरेको छ । अहिले नै के कति संख्यामा थप्ने भन्ने निर्क्यौल भइसकेको छैन ।

आइसोलेसनमा डाक्टरहरू आवश्यकता अनुसार स्वास्थ्य विभागले खटाउने छ । यदि कोहीलाई डाक्टरहरूले नै जाँच गर्नुपरेको खण्डमा आवश्यकता अनुसार आइसोलेसनमा जान्छन् । स्वास्थ्यकर्मीहरु २४ सै घण्टा खटिएका हुन्छन् । उनीहरूले बिहान बेलुका क्वारेन्टीनमा राखिएका सम्भावित संक्रमितहरूको स्वास्थ्य परीक्षण गर्ने गरेको प्रा.डा. गौतमले बताए ।

एउटै केन्द्र बनाएर संयुक्त रूपमा सबैसँग मिलेर काम गर्दैछौं : मेयर शाक्य

काठमाडौं उपत्यकाको हकमा काठमाडौं महानगरपालिकाले मात्रै गर्ने होइन, उपत्यकामा काठमाडौं महानगरपालिका, स्थानीय वडा, प्रदेश सरकार, संघीय सरकार सबै मिलेर कोरोना भाइरसविरुद्ध लड्ने काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताए ।

‘उपत्यकाको हकमा महानगरपालिका एक्लैले कोरोना भाइरसँग लड्न सक्दैन । केन्द्र, प्रदेश र स्थानीय वडाहरूको समन्वयमा काम गर्दैछौं,’ मेयर शाक्यले लोकान्तरसँग भने ।

काठमाडौं उपत्यकामा देशैभरिका मानिसहरु रहने भएकाले सबैसँग मिलेर आइसोलेसन र क्वारेन्टीन बनाउन लागिएको उनले बताए । उपत्यकामा कोरोना भाइरसका बिरामी बढ्दै जाँदा आवश्यकता अनुसार आइसोलेन बेड थप्दै जाने मयेर शाक्यले बताए । 

‘हामीले उपत्यकालाई एउटै केन्द्र बनाएर संयुक्तरूपमा चाहिने आइसोलेसनहरू बनाउँदैछौँ, एकीकृत रूपमा काठमाडौंमा आइसोलेसन बेड अवाश्यकता अनुसार थप्दै जान्छौं,’ मेयर शाक्यले भने ।

salt training

कमेन्ट गर्नुहोस्