पुस ६, २०८०
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
अन्तर्राष्ट्रिय श्रम संगठनले निकालेको पछिल्लो प्रतिवेदनअनुसार नेपालमा विभिन्न क्षेत्रमा काम गर्ने ३७ लाख कामदारहरू कोभिड– १९ का कारण जोखिममा छन् । प्रत्येक ४ जनामा एक जनाले रोजगारी गुमाएका छन् भने बाँकीको ज्याला र काम गर्ने समय घटेको छ ।
रोजगारी गुमेपछि अथवा असुरक्षा सिर्जना भएपछि मान्छे मानसिक तनावबाट गुज्रिन्छ । अनौपचारिक र असंगठित क्षेत्रमा काम गर्नेहरूको त कुरै गर्नु परेन ।
विभिन्न अध्ययनहरूले एउटा पर्यटक नेपाल आउँदा प्रत्यक्ष र अप्रत्यक्ष गरी ९ जनाले रोजगारी पाउने अनुमान गरेका छन् । तर अहिले पर्यटन क्षेत्र ध्वस्त छ । जानकारहरूले कोभिड– १९ को प्रकोप सामान्य भएपछि पनि पर्यटन क्षेत्र पुरानै अवस्थामा फर्किन कम्तीमा ४ वर्ष लाग्ने बताउँछन् ।
कोभिड– १९ ले रोजगारीको क्षेत्रमा तबाही मचाएको छ । साना तथा घरेलु व्यवसायहरू बन्द भएका छन् । मझौला उद्योग व्यवसायहरू पूर्ण क्षमतामा सञ्चालित छैनन् भने ठूला औद्योगिक कलकारखानाहरूको हालत खराब भएको छ ।
चाहे उद्योगी व्यवसायी होस्, चाहे कामदार होस्, कोभिड– १९ रोकथामका लागि गरिएको लक-डाउन र निषेधाज्ञाले सबैलाई गहिरो नकारात्मक प्रभाव पारेको छ ।
आर्थिक असुरक्षाको परिणाम - मानसिक रोग
यही कारणले कतिपयमा मानसिक समस्या देखिन शुरू भएको विशेषज्ञहरूले बताउने गरेका छन् । मानसिक रोग विशेषज्ञ डा. रितेश थापाले कोभिड– १९ का कारण परेको सामाजिक, आर्थिक लगायतका बहुआयामिक असरले अन्त्यमा मानिसलाई मानसिक रोगको शिकार बनाउने बताए ।
'डिप्रेसन, एन्जाइटी, पोस्ट ट्रामाटिक स्ट्रेस डिसअर्डर जस्ता मानसिक समस्या झेल्नुपर्ने बाध्यता धेरैलाई आइसकेको छ,' डा. थापाले भने, 'कतिपय सिधा मानसिक समस्याको शिकार भएका छन् भने कतिपय आर्थिक सामाजिक असुरक्षाका कारण मानसिक तनाव झेलिरहेका छन् । कतिपयलाई निद्रा राम्रोसँग आउने गरेको छैन । यसले पछिसम्म पनि शारीरिक दुर्बलता निम्त्याउने खतरा छ ।'
डा. थापाले आफूहरूले लक-डाउनको अवस्थामा पनि निरन्तर मानसिक परामर्श सेवा दिएको बताए ।
'हामीले एक दिन पनि सेवा बन्द गरेका छैनौं,' उनले भने, 'धेरै बिरामीहरू कोभिड– १९ का कारण त्रसित देखिन्छन् । केही गर्न मन नलाग्ने, आत्महत्याको विचार आउने, रातिमा निद्रा नलाग्ने जस्ता समस्या हामीसँग बढी आएका छन् ।'
यस्तो समस्या २०-२५ वर्षदेखि ४०-४५ वर्ष उमेर समूहमा देखिएको उनले बताए । कोभिडलाई बढी हाउगुजीका रूपमा लिने, विभिन्न सामाजिक सञ्जालमा फैलिएका गलत सूचनाको भर पर्ने लगायतका समस्याहरू आमरूपमै देखिएको छ ।
आफूलाई कोरोना भएको भ्रममा लाखौँ खर्च
डा. थापाले परामर्शका लागि आफूसँग आएको एउटा बिरामीको कथा व्यथा सुनाए ।
'मसँग परामर्शका लागि आएका एकजना बिरामी भर्खरै विदेशबाट आएका रहेछन् । उनको कोभिड– १९ टेस्ट नेगेटिभ थियो तर उनले पत्याउनै नसक्ने । उनले जतिखेर पनि आफूलाई पक्कै कोभिड– १९ संक्रमण भएको भनिरहने । यही कारणले उनले पटक-पटक टेस्ट गराए । ७/८ पटक टेस्ट गराएको मैले नै देखेको छु । लाखौँ खर्च भयो तर उनले आफूमा कोरोना छैन भनेर विश्वास नै गर्न सकेनन्,' डा. थापाले भने ।
डा. थापाले 'डिलुजन'का कारण यस्तो हुने बताए । 'आफूलाई कोरोना भएको छ भन्ने एउटा भ्रमलाई ती बिरामीले विश्वासमा बदलेका छन्,' उनले भने, 'त्यो विश्वास हटाउन धेरै प्रयास र मेहनत गर्नुपर्छ । भ्रम सजिलै हटाउन सकिएला तर विश्वासकै तहमा पुगिसकेपछि सजिलै हटाउन सकिन्न ।'
डा. थापाले आफूले ती बिरामीलाई निरन्तर परामर्श दिएको बताए । 'अब केही दिनमा बोलाएको छु, केही सुधार हुने अपेक्षा छ । यस्ता समस्याहरू बडो डरलाग्दो तरिकाले समाजमा देखिन शुरू भएको छ । अहिलेको अहिल्यै समाधान हुने समस्याहरू होइनन् यी, वर्षौं लाग्न सक्छन् ।'
एउटा कोरोनाको भ्रम, अर्को आर्थिक असुरक्षाले ल्याएको मानसिक तनाव !
अहिले आम मानिसको मानसपटलमा दुईवटा कुराले मुख्य हलचल पैदा गरेको छ । एउटा कोरोनाका बारेमा सिर्जना भएको भ्रम र अर्को आर्थिक असुरक्षाका कारण पैदा भएको मानसिक समस्या । दुवै समस्याहरूसँग जुध्न फरक फरक उपायहरू अपनाउनुपर्ने विज्ञहरूको सुझाव छ ।
'अस्ति तपाईंले देखिहाल्नुभयो, बानेश्वरमा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएको थियो,' डा. थापाले भने, 'त्यो कोरोनाका बारेमा सिर्जित भ्रमका कारणले भएको हो । दोस्रो कतिपय केसहरू छन् जसमा मान्छेहरूले आफ्नो आर्थिक असुरक्षा दर्शाइरहेका छन् । जागिर गुम्यो भने के होला भन्ने खालको चिन्ता, जागिर गुमिसकेकालाई पैसा कसरी कमाउने भन्ने चिन्ता जस्ता धेरै कुराहरू छन् । युवाहरू यसको शिकार हुनु धेरै नराम्रो कुरा हो । यसको व्यवस्थापनका लागि सरकारले पनि केही न केही सोच्नुपर्छ ।'
नेपालमा लाखौँले रोजगारी गुमाएका छन् । रोजगारीका लागि भारत गएकाहरू १० लाखको हाराहारीमा फिर्ता भइसकेका छन् । खाडी लगायत अन्य मुलुकमा रहेका नेपालीहरू पनि कतिबेला नेपाल फर्किन पाइएला भनेर पर्खिराखेको अवस्था छ । देशको रोजगारीले यति ठूलो जनशक्ति धान्नै सक्दैन । यसले अन्ततः सिर्जना गर्ने भनेकै मानसिक समस्या हो ।
मान्छे कुलतमा फस्ने डर !
त्रिभुवन शिक्षण अस्पतालका प्राध्यापक तथा मनोचिकित्सक डा. सरोजप्रसाद ओझाले मानसिक समस्या बढ्दै गए मान्छे कुलतमा फस्न सक्ने डर भएको बताए । ओझाले लोकान्तरसँग भने, 'यतिबेला मान्छे अस्पताल जान पनि डराएको अवस्था छ । यत्तिकै बाहिर निस्कने, घुमफिर गर्ने अवस्था छैन । भित्रभित्रै गुम्सिरहेको छ । यसले अन्य समस्याहरू त सिर्जना गर्छ नै, मानिस कुलतमा फस्न सक्ने सम्भावना पनि निकै छ ।'
आफ्नो एकोहोरोपन मेटाउन जो कोहीले पनि जाँड रक्सीको सेवन गर्ने, चुरोट, खैनी खाने, अझ लागूऔषधको सेवन गर्ने जस्तो बाटो अपनाउन सक्ने खतरा रहेको प्रा. डा. ओझाको भनाइ छ ।
उनले मानसिक स्वास्थ्यलाई अहिलेसम्म कसैले पनि गम्भीरतापूर्वक नलिएको बताए । 'हामीकहाँ कडा खालको मानसिक समस्या आयो, मान्छेले होश नै गुमाउने स्थिति आयो भने मात्र मानसिक रोग हो भन्ने चलन थियो,' उनले भने, 'तर अब त्यो पर्सेप्सन परिवर्तन हुँदै गएको छ । कतिपय मनोसामाजिक समस्याहरूलाई पनि प्राथमिकतामा राखेर उपचार गर्नुपर्ने हुनसक्छ भन्ने बुझाइ आएको छ, जुन सकारात्मक हो ।'
मानसिक समस्याबाट बच्ने कसरी ?
डा. थापाले कोरोनालाई हाउगुजीका रूपमा नलिए कतिपय समस्याहरू आफैं समाधान भएर जाने बताउँछन् । 'यो पनि अरूजस्तै रोग हो, सतर्क र सुरक्षित भएपछि आफूलाई संक्रमण हुँदैन भन्ने विश्वास सबैमा हुनुपर्छ,' उनले भने, 'हामीले कुरा चाहिँ ठूलो ठूलो गर्ने तर आफूलाई लागिहाल्छ कि भन्ने पीरबाट ग्रसित हुने समस्या छ । यसलाई सही ढंगले बुझ्नु नै यसको समाधान हो ।'
उनले आधारभूत सुरक्षाका उपायहरू अपनाए कोरोना नलाग्ने विश्वास सिर्जना गर्नुपर्ने बताए ।
'इन्फेक्सन भइहाल्यो भनेपनि डराउनु पर्दैन,' उनले भने, 'धेरै निको भएर घर फर्किरहेका छन् । अर्को कुरा हामीकहाँ यति बिरामी भयो र मृत्यु भयो भन्ने समाचारहरू हावी छन्, त्यसलाई परिमार्जन गरेर यति निको भए, यो यो उपायहरू अपनाए संक्रमण हुँदैन भन्ने खालको सूचना सम्प्रेषण गर्नुपर्छ ।'
कोरोनाका कारण परेको सामाजिक आर्थिक प्रभावका कारण सिर्जित समस्यामा भने राज्यको खासै ध्यान गएको जस्तो देखिएको छैन ।
सरकारले ल्याएको आर्थिक प्याकेज निष्प्रभावी भएको भन्दै आलोचनाको शिकार बनेको छ । 'यसमा आममानिसको तहबाट गर्न सकिने भनेको जतिसुकै दु:खमा पनि नआत्तिने नै हो,' डा. थापाले भने, 'कति आत्तिने ? आत्तिएर पार लाग्दैन ।'
सरकार सजग छ - प्रवक्ता, स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोभिड– १९ का कारण जनमानसमा देखिएका मानसिक समस्याहरूबारे मन्त्रालय सजग रहेको प्रतिक्रिया दिएका छन् ।
डा. गौतमले लोकान्तरसँग भने, 'कोभिड– १९ का कारण सिर्जित हरेक स्वास्थ्य समस्याबारे हामी सजग छौं । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुमा एउटा मेन्टल इलनेससम्बन्धी विभाग छ । त्यसले आफ्नो काम गरिरहेको छ ।'
उनले कोभिड– १९ का कारण र अन्य कारणबाट सिर्जित सबै किसिमका मानसिक समस्याहरूका बारेमा मन्त्रालय र सरकार गम्भीर रहेको बताए ।
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...