२१ जेठ २०८३, बिहीबार

उपत्यकामा १५ किलोमिटर खानेपानीको पाइप र ७ किमी ढल विस्तार गरिने

भदौ ८, २०७७
उपत्यकामा १५ किलोमिटर खानेपानीको पाइप र ७ किमी ढल विस्तार गरिने
प्रतिकात्मक तस्वीर

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले आगामी आर्थिक वर्षमा १५ किमी खानेपानीको पाइप र ७ किलोमिटर ढल विस्तार गर्ने भएको छ । 

उपत्यकामा खानेपानीको बढी समस्या रहेका स्थानमा खानेपानी पाइप विस्तार गरिने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए । मेलम्चीको पानी काठमाडौं उपत्यकामा आएपछि वितरणका लागि आयोजना कार्यान्वयन निर्देशनालयले विभिन्न स्थानमा पाइप विस्तारको काम गरिरहेको छ । 

उनका अनुसार निर्देशनालयले पाइप विस्तार गरिसकेका वा आगामी दिनमा गर्न लागेको बाहेकका स्थान छनोट गरी नयाँ पाइप विस्तार गरिएको हो । उनले भने, ‘निर्देशनालय पनि नपुगेको र पानीको पनि समस्या रहेका स्थान छनोट गरिएको छ ।’

गत आवमा झण्डै ७ किलोमिटर ढल निर्माण गरेको लिमिटेडले आगामी आवमा पनि त्यति नै लम्बाईको ढल विस्तारको योजना बनाएको छ । उपत्यकामा ढल निर्माणको मुख्य जिम्मेवारी लिमिटेडको भए पनि शहरी विकास मन्त्रालय र स्थानीय सरकारले पनि ढल निर्माण गर्दै आएका छन् । आपसी समन्वयको अभावमा बर्सेनि वर्षाको समयमा सडक पानीले भरिने गरेका छन् । 

उनका अनुसार लिमिटेडले ढल आवश्यक भएका स्थानमा निर्माण र मर्मत दुवैलाई कार्यक्रममा राखेको छ । उनले भने, ‘ढल निर्माणको काम मुख्य सडक र भित्रि सडक सबैतिर हुनेछ ।’ लिमिटेडले गत आवमा ढल बिच्छाउने कार्यक्रममा लक्ष्यको ९० प्रतिशत प्रगति हासिल गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्