
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ उपचारका लागि तय गरेको तीन तहको अस्पताल संरचनालाई खारेज गर्ने निर्णय गरेको छ ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालको उपस्थितिमा आइतबार मन्त्रालयमा बसेको इन्सिडेन्ट कमान्ड सेन्टरका पदाधिकारीसहितको बैठकले हाल कार्यान्वयनमा रहेको कोभिड अस्पतालको लेभल–१, २ र ३ को संरचनालाई खारेज गरेको हो ।
यी सबै अस्पताललाई संक्रमितको उपचार गर्न सक्ने गरी सूचीकृत गरिएको छ ।
सूचीकृत अस्पतालहरूले अब कोभिडका बिरामीहरूको चिकित्सकीय अवस्था तथा सेवाको उपलब्धताका आधारमा उपचार वा रेफर गर्न पाउनेछन् । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार अब १ सय १५ वटा अस्पतालले स्क्रिनिङका लागि फिभर क्लिनिक चलाउनेछन् भने ४९ वटाले कोभिडका बिरामीको उपचार गर्नेछन् ।
मन्त्रालयले यसअघि गरेको व्यवस्थाअनुसार देशभर लेभल–३ का २३ वटा, लेभल–२ का १८ वटा र लेभल–१ का ७ वटा अस्पताल थिए । बैठकले धोविघाटको मेघा अस्पताललाई पनि कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । ‘यसअघि लेभल–१, २, ३ भनेर सूचीकृत अस्पतालले अब समान रूपमा कोभिडका बिरामीहरू भर्ना लिन पाउनेछन्,’ डा. अधिकारीले भने । कान्तिपुर दैनिकमा खबर छ ।