२६ असार २०८३, शुक्रबार

सर्वाेच्च अदालतमा बन्दी बाहेकका सम्पूर्ण सुनुवाइ ठप्प

भदौ १०, २०७७
सर्वाेच्च अदालतमा बन्दी बाहेकका सम्पूर्ण सुनुवाइ ठप्प

सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणको रिट निवेदनबाहेक अन्य सम्पूर्ण मुद्दा तथा रिट निवेदनको सुनुवाइ गर्ने कार्य रोकेको छ ।

सर्वोच्चले विगत ५ दिनदेखि बन्दीप्रत्यक्षीकरणको निवेदनबाहेक अन्य सम्पूर्ण मुद्दाको सुनुवाइ गर्ने क्रम रोकेको हो । 

सर्वोच्चले गत ४ गते ८ वटा उत्प्रेषणको आदेशले बदर गर्न माग गरी दायर भएको रिट निवेदनमा प्रारम्भिक सुनुवाइ गरेको थियो । सोही दिन संयुक्त इजलासबाट ३ वटा बन्दीप्रत्यक्षीकरणको निवेदनको सुनुवाइ भएको थियो ।

काठमाडौं उपत्यकामा डरलाग्दो तवरले कोरोना भाइरसको संक्रमण बढेका कारण सर्वोच्चकै कर्मचारी तथा कानुन व्यवसायीले समेत बन्दीप्रत्यक्षीकरणको रिट निवेदनबाहेक अन्य मुद्दाको सुनुवाइ रोक्नुपर्ने माग गर्दै आएका थिए । सर्वोच्चकै केही कर्मचारीमा समेत कोरोना भाइरसको संक्रमण भएको रिपोर्ट आएपछि यो माग झन् जोडतोडले उठेको थियो ।

त्यसपछि गत ५ गते शुक्रवार जम्मा एउटा मात्र बन्दीप्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि पेस भएको थियो । रितेश गुप्ताको हकमा रिन्कु जयसवालद्वारा दायर गरिएको निवेदनमा न्यायाधीशहरू दीपककुमार कार्की र अनिलकुमार सिन्हाको इजलासले विशेष अदालत, बबरमहलबाट सम्बन्धित मिसिल झिकाउने आदेश भएको थियो ।

भदौ ७ गते आइतवार सर्वोच्चको एकल इजलासमा ८ वटा बन्दीप्रत्यक्षीकरणको निवेदन सुनुवाइका लागि पेश भएका थिए । न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले ती सबै निवेदनमा देखाइएका विपक्षीलाई कारण देखाउ आदेश जारी भएको छ । सोही दिन न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसीको संयुक्त इजलासले २ वटा बन्दीप्रत्यक्षीकरणको निवेदन सुनुवाइ गरेको थियो । तीमध्ये एउटामा विपक्षीसँग ‘बुझ्ने आदेश’ भएको छ भने अर्कोमा फाइल मगाउन आदेश दिइएको छ ।

सर्वोच्चमा भदौ ८ गते सोमवार पनि बन्दीप्रत्यक्षीकरणको निवेदन मात्र सुनुवाइका लागि पेशीमा राखिएका थिए । न्यायाधीशहरू मीरा खड्का र विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलसमा ३ वटा मात्र निवेदन सुनुवाइका लागि राखिएकामा २ वटाको मात्र बहस भएको थियो । समय अभावका कारण एउटाको सुनुवाइ हुन सकेको थिएन । सोही दिन न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासमा एउटा मात्र मुद्दा सुनुवाइका लागि तोकिएको थियो । सो मुद्दामा विपक्षी बनाइएको उच्च अदालत पाटनबाट लिखित जवाफ मगाइएको छ ।

मंगलवार पनि सर्वोच्चमा ४ थान बन्दीप्रत्यक्षीकरणको मात्र निवेदन सुनुवाइका लागि पेश भएका थिए । न्यायाधीशहरू दीपककुमार कार्की र प्रकाशमान सिंह राउतको इजलासमा ती निवेदन सुनुवाइका लागि पेश भएका हुन् । त्यसमध्ये जिल्ला प्रहरी कार्यालय, भोजपुरले गैरकानुनी थुनामा राखेको उल्लेख गर्दै सो इजलासले चन्द्रबहादुर चन्दलाई रिहा गर्न आदेश दिएको छ ।

सर्वोच्च अदालतको आधिकारिक ट्रेड युनियनका सचिव हरि भट्टराईले आफूहरुको मागबमोजिम सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनको मात्र सुनुवाइ हुन थालेकोमा खुशी व्यक्त गरे । उनले अब कर्मचारी तथा सेवाग्राहीमा कोरोना संक्रमण हुने सम्भावना कम भएको बताए । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्