रुसका विपक्षी नेता अलेक्सेई नभाल्नीलाई विष दिएर रुस सरकारलाई कुनै फाइदा नहुने त्यहाँको परराष्ट्र मन्त्रालयले जनाएको छ । पश्चिमी मुलुकका मिडिया र सरकारले हतारहतार रुसमाथि आरोप लगाएको उल्लेख पनि मन्त्रालयले गरेको छ ।
रुसका परराष्ट्रमन्त्री सर्गे लाभरोभ र अमेरिकाका परराष्ट्र राज्यमन्त्री स्टिफन बीगुनबीचको भेटघाटपछि मंगलवार राति बयान जारी गरेर परराष्ट्र मन्त्रालयले यो बयान जारी गरेको हो । उक्त बैठकमा नभाल्नी विष प्रकरणको चर्चा भएको थियो ।
वाशिङटन र ब्रसेल्समा नभाल्नीलाई रुस सरकारले विष दिएको भन्ने आशयका कुरा हतारमै झिकिनु सन्देहास्पद रहेको लाभरोभको भनाइ छ । यस प्रकरणलाई अलेक्जेन्डर लिट्भिनेन्को र स्क्रिपालहरूविरुद्ध दिइएको विषसँग तुलना गरियो जबकि ती केसहरूमा पनि अनुसन्धान पूरा भएका छैनन् ।
नभाल्नीको उपचारमा संलग्न रुसी चिकित्सकहरूले घटना ढाकछोप गर्न खोजेको आरोप पनि गलत रहेको मन्त्रालयको भनाइ छ ।
राष्ट्रपति भ्लादिमिर पुटिन आफैं नभाल्नीलाई विष दिन संलग्न रहेको भनी लगाइएका सबै आरोप मिथ्या भएको मन्त्रलायले जनायो ।
नभाल्नी ओम्स्क शहरबाट मस्कोका लागि विमानमा बसेपछि बिरामी भएका थिए । उनलाई तत्कालै अस्पताल लगिएको थियो र स्वास्थ्य स्थिर भएको थियो ।
शनिवार उनलाई ओम्स्कबाट विमानमा राखेर जर्मनी लगेर उपपचार थालिएको छ । बर्लिनस्थित च्यारिटे अस्पतालमा उनको उपचारमा संलग्न चिकित्सकहरूले उनको शरीरमा विष भेटिएको बताए ।