
प्रदेश सभाका गाडी मर्मत लगायत अन्य विभिन्न क्षेत्रमा अनियमितता भएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवल कार्यालयले छानबिन थालेको छ ।
आयोगका प्रवक्ता सुरेश भुसालले प्रदेश सभाबाट फाइल मगाएर छानबिन थालिएको लोकान्तरलाई जानकारी दिए ।
‘नयाँ गाडी मर्मतमै अचाक्ली खर्च एक वर्षमै आधा करोड भुक्तानी’ शीर्षकमा लोकान्तरले साउन २८ गते समाचार प्रकाशित गरेको थियो ।
आयोगका प्रवक्ता भुसालले भने, ‘फाइल मगाएका छौं । यो विषयमा गम्भीर रुपमा छानबिन गर्ने तयारीमा हामी छौं । अहिले यो भन्दा बढी केही भन्न मिल्दैन ।’
प्रदेश सभामा सचिव र लेखा अधिकृतले समेत कानूनविपरीत सुविधा लिएको विषयमा पनि आएको छ ।
यो विषयमा प्रदेशको सार्वजनिक लेखा समितिले पनि छानबिन थालेको छ । लेखा समितिले पनि बैजनाथ कलवारको संयोजकत्वमा समिति बनाएको छ ।