
फ्रान्सको दक्षिणी भागमा रहेको समुद्री किनारमा टपलेस भएर सूर्यस्नान गरिरहेका महिलाहरूलाई प्रहरीले स्तन छोप्न भनेपछि हंगामा मच्चिएको छ ।
मध्यामार्गी, वामपन्थी र दक्षिणपन्थी सबैथरी राजनीतिकर्मी मिलेर प्रहरीको कदमको भर्त्सना गरेका छन् । गृहमन्त्रीले भित्री वस्त्र समेत नलगाई सूर्यस्नान गर्नु आधारभूत फ्रान्सेली स्वतन्त्रता भएको बताए ।
सेन्टे–मारी–ला–मेमा तीनजना महिला स्तन देखाएर सूर्यस्नान गरिरहँदा एकजनाले उजुरी गरेपछि दुई प्रहरीले उनीहरूलाई स्तन छोप्न भनेका थिए ।
घटनाको खबर मिडियामा छ्यापछ्यापती आएपछि प्रहरीलाई माफी माग्न बाध्य बनाइएको छ ।
फ्रान्सेली कानून अन्तर्गत टपलेस भएर सूर्यस्नान गर्न अनुमति दिइएको छ । तर स्थानीय सरकारको कानूनले यसमा प्रतिबन्ध लगाउन सक्ने प्रावधान चाहिँ छ तर सेन्टे–मारी–ला–मेमा त्यस्तो प्रतिबन्ध छैन ।
फ्रान्समा टपलेस सूर्यस्नान सन् १९६० को दशकमा लोकप्रिय बनेको हो । सन् १९७० को दशकमा अनुदारवादीहरूले यसलाई प्रतिबन्ध लगाउने प्रयास गरेको भए पनि सकेनन् र यसलाई राष्ट्रिय गौरवको विषय बनाइयो ।