१४ असार २०८३, आइतबार

अरू रोगले भन्दा कोरोनाबाटै बढी मृत्यु

भदौ ११, २०७७
अरू रोगले भन्दा कोरोनाबाटै बढी मृत्यु

हालसम्म मुलुकमा कोभिड–१९ कै कारणले भन्दा पनि अरू नै स्वास्थ्य समस्या भएकामा यसको संक्रमण हुँदा बढी मृत्यु भएको ठानिँदै आएकामा अब यो गलत सावित भएको छ ।

कोभिड–१९ बाट बुधबारसम्म मृत्यु भएका १ सय ७५ जनाको तथ्यांक केलाउँदा कोरोनाजन्य जटिलताकै कारण मृत्यु हुनेको संख्या सबैभन्दा बढी छ । कोभिड–१९ सँग मात्रै सम्बन्धित जटिलताले देशभरमा ५६ जनाले ज्यान गुमाएका छन् । त्यसपछि क्रमशः पहिल्यै निमोनिया, मधुमेह, उच्च रक्तचाप, मिर्गौलाको समस्या, मुटु रोग र हाइपोथाइरोडिजम भएकाहरूको कोरोना संक्रमणसमेतका कारण मृत्यु भएको छ ।

कोभिड–१९ का कारण मृत्यु पुष्टि भएकामध्ये करिब ३२ प्रतिशतको कोभिडसम्बद्ध कुनै न कुनै प्रकारको जटिलताले ज्यान गएको छ । बाँकीमा अरू स्वास्थ्य समस्या रहेको देखिन्छ । अन्य स्वास्थ्य समस्यासँगै निमोनिया भएका बिरामीको संख्या पनि बढी छ । अरू रोगसँगै निमोनिया देखिएका बिरामी १७ प्रतिशत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार ६० वर्षभन्दा माथिका ६८ जनाले ज्यान गुमाएका छन् । सबैभन्दा बढी ज्यान गुमाएकामा ४१ देखि ६० वर्ष उमेर समूहका छन् । यो उमेर समूहका ७१ जनाको मृत्यु भएको छ । यो उमेर समूहमा पनि विभिन्न रोगका साथै केहीमा कोभिड–१९ सँग सम्बन्धित जटिलता मात्रै देखिएको थियो ।

१९ वर्षदेखि ४० वर्ष उमेर समूहका २९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यो उमेर समूहकामा भने प्रायः सबैमा कोभिड–१९ सँग सम्बन्धित जटिलता नै मृत्युको मुख्य कारण छ । यस्तै नवजात शिशुदेखि १८ वर्ष उमेर समूहका ७ जनाको मृत्यु भएको छ । यो उमेर समूहका अधिकांशलाई झाडापखालाको समस्या देखिएको थियो । म्याग्दीका ४९ दिने शिशुको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । ती बालकको मिर्गौलामा गम्भीर समस्या थियो ।

मन्त्रालयको तथ्यांकअनुसार कोभिड–१९ का कारण बुधबारसम्म काठमाडौं उपत्यकामा २२ जनाको मृत्यु भएको छ, जसमा १३ पुरुष र ९ महिला छन् । तीमध्ये ४ जनाको मात्रै कोभिड–१९ ले निम्त्याएको जटिलताले ज्यान गएको देखिन्छ । अन्यमध्ये ७ जनामा मिर्गौलाको समस्या थियो भने ७ जनालाई उच्च रक्तचाप थियो । बाँकीमा मुटु रोग र मधुमेहलगायत समस्या थियो ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार पूर्ववत् स्वास्थ्य समस्या भएका तथा विभिन्न कारणले रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरूलाई नै कोरोना संक्रमणले सबैभन्दा बढी असर गरेको छ । ‘बढी उमेर समूह, कमजोर स्वास्थ्य तथा रोग प्रतिरोधी क्षमता कम भएकालाई नै कोरोनाले बढी असर गर्छ भनेर विश्व स्वास्थ्य संगठनले भन्दै आएको छ । नेपालमा पनि त्योभन्दा फरक अवस्था रहेको देखिँदैन,’ उनले भने, ‘त्यसैले हामीले समुदायमा रोग फैलन दिनु हुँदैन । समुदायमा गयो भने हताहती हुनेको संख्यामा वृद्धि हुने जोखिम रहन्छ ।’

जोन्स हप्किन्स विश्वविद्यालयमा जनस्वास्थ्यविद्का रूपमा कार्यरत डा. दिनेश न्यौपानेका अनुसार विश्वमा जस्तै नेपालमा पनि कुल मृत्युदर शून्य दशमलव ५ प्रतिशत छ । ‘केही समय अगाडि धेरैले नेपालीलाई केही हुँदैन, यहाँ विदेशमा जस्तो मान्छे मर्दैनन् भन्थे,’ उनले भने, ‘अब त्यो सबै गलत रहेछ भनेर देखिएको छ । विश्वको तथ्यांकले जे देखाएको छ, अहिले यहाँ त्यही देखिएको छ । डर त विश्वको त्यो तथ्यांकभन्दा बढीको मृत्यु हुन्छ कि भन्ने हो ।’

सरकारले कोरोनाको परीक्षण तथा कन्ट्याक्ट ट्रेसिङमा यथोचित कार्य गर्न सकेको छैन । त्यसैले नेपालमा अहिले पनि कोरोनाको जोखिम घटेको छैन । ‘सरकार अघिअघि, कोरोना पछिपछि हुनुपर्ने हो । तर नेपालमा कोरोना अघिअघि, सरकार पछिपछि भइरहेको छ,’ उनले भने, ‘अझै पनि एक लाखभित्र नियन्त्रण गर्न सके धेरै हदसम्म हताहत हुनेको संख्यालाई कम गर्न सकिन्थ्यो । नत्र धेरै ठूलो क्षति नहोला भन्न सकिन्न ।’

डा. न्यौपानेका अनुसार विकसित देशहरू बढी उमेर समूहका व्यक्तिहरूलाई बचाउन सफल भएका छन् । नेपालमा भने स्रोत साधनको कमीका कारण बचाउन सकिने उमेर समूहकाहरू पनि जोखिममा पर्ने खतरा छ ।
जनस्वास्थ्यविद् डा. न्यौपानेका अनुसार रोग कति गम्भीर छ भनेर थाहा पाउन सीएफआर (केस फ्याटालिटी रेट) प्रयोग गरिन्छ ।

यो निश्चित समयभित्र सो रोगले मृत्यु भएका जम्मालाई जम्मा संक्रमितहरूको संख्याले भाग गरेर निकालिन्छ । कुनै रोगको वास्तविक सीएफआर त्यो रोग पूरा नियन्त्रणमा आएपछि मात्र निकाल्न सकिन्छ । कोभिडको सन्दर्भमा अहिले निकालिने सीएफआर प्रारम्भिक मात्रै हुन्छ ।

यो रोगको प्रकृतिले अहिलेसम्म निको भएका वा मृत्यु भएकाहरूलाई मात्र समावेश गरेर सीएफआर निकाल्नु सान्दर्भिक देखिन्छ । यसरी निकाल्दा संसारको कोभिड–१९ को सीएफआर ४.७ प्रतिशत, अमेरिकाको ५ प्रतिशत, भारतको २.३५ प्रतिशत, श्रीलंकाको ०.४ प्रतिशत र नेपालको १ प्रतिशत हुन्छ । पछिल्ला केही महिनाको तथ्यांक मात्र लिने हो भने नेपालमा सीएफआर योभन्दा बढी देखिन्छ ।

‘नेपालमा परीक्षणको सीमितताले सबै संक्रमितहरूको पहिचान हुन सकेको छैन । त्यसैले अहिले नै कोभिडको सीएफआर कम छ भनेर भन्ने बेला भएको छैन,’ डा. न्यौपानेले भने, ‘पछिल्ला दिनमा संक्रमितको संख्या बढ्दै गइरहेकाले सीएफआर पनि वृद्धि हुने देखिन्छ ।’

प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै ७१ जनाको प्रदेश २ मा मृत्यु भएको छ । प्रदेश २ को पनि पर्सामा सबैभन्दा बढी ३१ जनाले ज्यान गुमाएका छन् । त्यही प्रदेशको धनुषामा १२ जनाको कोभिडका कारण मृत्यु भएको छ । पर्साको छिमेकी जिल्ला बारामा पनि १० जनाले ज्यान गुमाएका छन् । प्रदेश २ का अन्य जिल्लामा भने मृत्युको संख्या दोहोरो अंकमा छैन । कोरोनाले वाग्मती प्रदेशमा ३७ जनाको मृत्यु भएको छ ।

नेपालमा सबैभन्दा पहिले वाग्मती प्रदेशकै सिन्धुपाल्चोककी एक महिलाको संक्रमणले ज्यान गएको थियो । वाग्मतीमा मृत्यु भएकामध्ये अधिकांश अस्पतालमा उपचाररत थिए । यो प्रदेशमा संक्रमित हुनेको कुल संख्या ५ हजार ४ सय ९४ रहेको छ भने निको हुनेको संख्या केवल ९ सय १९ छ । काठमाडौं उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या ३ हजार ५ सय ७५ छ ।

प्रदेश ५ मा २३ जनाले ज्यान गुमाएका छन् । यस प्रदेशमा कुल संक्रमितको संख्या ५ हजार ९ सय २२ छ । यो प्रदेशमा सबैभन्दा धेरै रूपन्देहीमा ६ जनाको मृत्यु भएको छ । सुदूरपश्चिममा हालसम्म १० जनाको ज्यान गएको छ ।

मुलुकमा सबैभन्दा पहिलोपटक दोस्रो स्तरको संक्रमण देखिए पनि यो प्रदेशमा धेरै हताहती भएका छैनन् । हाल यो प्रदेशमा कुल संक्रमितको संख्या ५ हजार ६ सय ३१ रहेको छ । तीमध्ये ४ हजार ५ सय ९४ जना संक्रमण मुक्त भएको तथ्यांक छ । गण्डकी प्रदेशमा ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । गण्डकीमा संक्रमितको संख्या २ हजार ६५ छ । कर्णालीमा २ हजार ४ सय २ जनालाई संक्रमण देखिएको छ जहाँ ४ जनाको मृत्यु भएको छ । कान्तिपुर दैनिकमा स्वरूप आचार्यले खबर लेखेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्