०८ असार २०८३, सोमबार

झन्डै ५० प्रतिशत बढ्यो विदेशी लगानी

भदौ ११, २०७७
झन्डै ५० प्रतिशत बढ्यो विदेशी लगानी

गत आर्थिक वर्षमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) करिब झन्डै ५० प्रतिशत बढेको छ । अघिल्लो आर्थिक वर्षमा कुल १३ अर्ब ६ करोड रुपैयाँ विदेशी लगानी आएकोमा गत आवमा यो बढेर १९ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा नेपाल भित्रिएको एफडीआई ४९.१ प्रतिशत बढी हो । गत आर्थिक वर्षमा पहिल्यै नै प्रतिबद्धता भएको आयोजनामा लगानी आएकाले कुल विदेशी लगानी आप्रवाह धेरै भएको राष्ट्र बैंकले बताएको छ ।

गत आर्थिक वर्षमा रेमिट्यान्समा जस्तै विदेशी लगानीमा पनि कोभिड–१९ को प्रभाव देखिएको छैन । नेपालमा सरकारले गत चैत ११ देखि लकडाउन सुरु गरेको थियो । चैतयता असारसम्म ठूलो परिमाणमा विदेशी लगानी नआए पनि अघिल्लो वर्षभन्दा केही बढेको राष्ट्र बैंकको तथ्यांक छ । गत आर्थिक वर्षमा केही जलविद्युत् आयोजनामा ठूलो परिमाणमा एफडीआई आएकाले कुल विदेशी लगानीको वृद्धिदर राम्रो देखिएको राष्ट्र बैंकका प्रवक्ता एवं अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टले जानकारी दिए ।

‘अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा लगानीको वातावरणमा सुधार भएको, सोसम्बन्धी केही कानुन बनेको, एकद्वार प्रणाली सुरु भएको, लगानी सम्मेलन गरिएकोलगायत कारण विदेशी लगानी बढेको हो,’ उनले भने, ‘कोभिडले सृजना गरेको अवस्था छाडने हो भने मुलुकमा लगानीको वातावरणमा उल्लेख्य सुधार भएको छ ।’ राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष नेपाल भित्रिएको विदेशी लगानीको ९० प्रतिशतभन्दा बढी हिस्सा चारवटा जलविद्युत् आयोजनामा आएको छ ।

जसमा वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीमा २ अर्ब, लाङटाङ भोटेकोसी हाइड्रोपावरमा ३ अर्ब ६० करोड, अरुण जलविद्युत्मा ८ अर्ब १५ करोड र सोलु हाइड्रोपावर कम्पनीमा १ अर्ब ४२ करोड विदेशी लगानी भित्रिएको स्रोतले बताएको छ । कोभिडका कारण साना तथा मझौला उद्यम (एसएमई) मा आउने विदेशी लगानी प्रभावित भए पनि ठूला आयोजनाको लगानी नघटेकाले समग्रमा कुल विदेशी लगानी प्रभावित नभएको राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाको भनाइ छ ।

‘जनताको स्तरमा आउने लगानी कोभिडबाट प्रत्यक्ष प्रभावित हुने देखिन्छ,’ उनले भने, ‘तर, ठूला परियोजनामा आउने लगानी खासै घट्दैन ।’

ठूलो आयोजनाको काम चलिरहेकाले तिनमा आउने प्रतिबद्धताअनुसारको लगानी नरोकिने उनले बताए । थापाका अनुसार पछिल्ला एक दुई वर्षमा मुलुकको लगानी वातावरणमा सुधार भएकाले नेपाल आउने विदेशी लगानी नघटेको हो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा नेपालबाट फिर्ता जाने एफडीआई साढे ९४ प्रतिशत घटेको छ । गत आवमा करिब २० करोड रुपैयाँ विदेशी लगानी फिर्ता भएको छ । अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ५८ करोड रुपैयाँ विदेशी लगानी फिर्ता भएको थियो ।

आर्थिक वर्ष ०७४/७५ को तुलनामा आव ०७५/७६ मा सबै महिना विदेशी लगानी घटेको थियो । सो आर्थिक वर्षको पुस र जेठमा ऋणात्मक नै पुगेको थियो । तर, गत आर्थिक वर्षको सुरुदेखि नै विदेशी लगानीमा सुधार देखिएको छ । सो आवको सबै महिनामा लगानी उल्लेख्य रूपमा बढेको छ ।

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना (कोभिड–१९) ले नेपाल आउने विदेशी लगानी प्रभावित हुने प्रक्षेपण भएको थियो । गत फागुनमा भने एफडीआई १ सय ३४ प्रतिशत बढेको थियो । ०७६ फागुनसम्म १५ अर्ब ६१ करोड १६ लाख रुपैयाँ एफडीआई भित्रिएको थियो । ०७५ फागुनसम्म यस्तो लगानी ६ अर्ब ६६ करोड रुपैयाँ थियो । गत फागुनसम्म रेमिट्यान्स र विदेशी लगानीको आप्रवाह राम्रो भए पनि अब घट्ने विज्ञहरूको प्रक्षेपण थियो छ । तर, आर्थिक वर्षको अन्त्यमा पनि अपेक्षित रूपमा विदेशी लगानी घटेन । यद्यपि नेपाल भित्रिने विदेशी लगानीभन्दा धेरै रकम ती लगानीको लाभांशबापत बाहिरिँदै आएको छ । पछिल्ला एक दशकको तथ्यांकले पनि त्यही देखाउँछ ।

पछिल्ला वर्षमा मुलुक भित्रिने विदेशी लगानीभन्दा लाभांशबापत बाहिरिने रकम धेरै छ । यो प्रवृत्ति हरेक वर्ष बढ्दो छ । गत आवमा आएको एफडीआईमध्ये सबैभन्दा धेरै जलविद्युत् क्षेत्रमा छ । अघिल्ला वर्षमा यस्तो लगानी औद्योगिक क्षेत्रमा धेरै थियो । लगानीमा रहेको पुँजी हेर्दा सबैभन्दा धेरै लगानी ट्याक्स हेभन मानिने ‘वेस्ट इन्डिज’ राष्ट्रबाट आएको राष्ट्र बैंककै अध्ययनले देखाएको छ । कान्तिपुर दैनिकमा यज्ञ बञ्जाडेले खबर लेखेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्