०४ असार २०८३, बिहीबार

१९ वर्षीय युवकको प्रहरी हिरासतमा मृत्यु

१९ वर्षीय युवकको प्रहरी हिरासतमा मृत्यु
सांकेतिक तस्वीर

साथीको हत्या काण्डमा संलग्न रहेका आरोपमा पक्राउ परेका सातमध्ये एक जनाको मृत्यु भएको छ । प्रहरी हिरासतमा रहेका रौतहटको गरुडा नगरपालिका–८ जिंगडिया टोलका १९ वर्षीय विजयराम चमारको गए राति मृत्यु भएको हो ।

सोही ठाउँका २० वर्षीय निरञ्जन राम चमारको हत्यामा संलग्न रहेका भनिएका विजयरामको उपचारका क्रममा वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा बुधबार राति १२ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भरत श्रेष्ठले जानकारी दिए ।

हत्या आरोपमा पक्राउ परेका छोरालाई प्रहरीले मरणासन्न हुने गरी कुटपिट गरेकाले सहन नसकी उनको उपचारका क्रममा मृत्यु भएको मृतक विजयरामका बुबा पनिलालले आरोप लगाए । छोरालाई हत्यामा फसाउन प्रहरीले कुनै कसर नराखेको उनले दाबी गरे ।

यता पक्राउ परेका मृतक विजयरामको इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा राखिएको समय उनको पिसाब तथा मिर्गौलामा समस्या आएपछि अनामिका अस्पतालबाट थप उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा भर्ना गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।

उपचारका क्रममा पिसिआर टेष्टसहित दुई/दुई पटक डायलाइसिस गरिएको तथा दुवै मिर्गौलाले काम गर्न छाडेपछि विजयको मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

गत साउन ३१ गते निरञ्जन रामले गाउँकै एक महिलासँग अवैध सम्बन्ध राखेको अभियोगमा उनकै साथीहरुले धारिलो हतियारले घाँटी रेटेर हत्या गरी गाउँ नजिकै फालेका थिए । यसरी आफ्नै साथीबाट हत्या गरिएको अनुसन्धानमा खुलेपछि सोही ठाउँका २० वर्षीय अजयकुमार रञ्जन, १९ वर्षीय विवेक यादव, अर्जुन राम, सिकेन्द्र राम र विजयराम तथा अन्दाजी २२ वर्षीय शेख आजादसहित सात जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।

आजादकै परिवारका एक महिलासँग अनैतिक सम्बन्ध राखेका कारण उनको योजनानुसार साथी मिलेर निरञ्जनको हत्या गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।

पक्राउ परेका सातै जनामाथि ज्यान मुद्दाअन्तर्गत जिल्ला अदालत रौतहट गौरबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया शुरु गरिएको रौतहट प्रहरीले जनाएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्