
अमेरिकाका दुई अत्याधुनिक यू–२ जासूसी विमान केही दिनअघि आफ्नो हवाईक्षेत्रमा आइपुगेको र सैन्य अभ्यासको भिडियो खिचेको भन्दै चीनले आपत्ति जनाएको छ ।
अमेरिकाले चीनको आरोप खण्डन त गरेन तर कुनै नियम नतोडेको बतायो ।
अघिल्लो महिना मात्र अमेरिकाका दुई लडाकू विमान शांघाईबाट जम्मा ७५ किलोमिटरको दूरीमा लामो समय उडेको बताइएको थियो ।
चीनको रक्षा मन्त्रालयका प्रवक्ता वु क्विनले भने, ‘अमेरिकी जलसेनाका दुई जासूसी विमान उत्तरी क्षेत्रमा आएर हाम्रो सेनाले गरेको अभ्यासलाई घन्टौंसम्म जासूसी गरिरहे । यसले अभ्यासलाई असर पार्यो । अमेरिकाले दुई देशबीचको सम्झौतालाई उल्लंघन गरेको छ ।’
चीनको सरकारी सञ्चारमाध्यमले अमेरिकाको यो हर्कत खतरनाक भएको लेख्यो । यसरी अमेरिकी विमान चीनमा पस्दा झडप पनि हुन सक्ने उसले बतायो ।
सीएनएनसँग कुरा गर्दै अमेरिकी वायुसेनाले सीमाभित्र रहेर नै काम गरेको जवाफ दियो । आफूहरूले पहिले पनि उक्त क्षेत्रमा काम गर्ने गरेको र पछि पनि गरिरहने वायुसेनाले बतायो ।
सैन्य मामिलाविज्ञ कार्ल चेस्टरले चीनको दाबीमा शंका व्यक्त गरे । अमेरिकाका विमान चीनभित्र पस्नै पर्दैन किनकि तिनीहरू उच्च प्रविधियुक्त भएकाले अनेकौं माइल टाढाबाट पनि हरेक कुराको जानकारी लिन सक्छन्, उनले भने ।
यू–२ जासूसी विमान पहिलोपटक सन् १९५० मा देखिएका थिए । यिनमा अनेकौंपटक अप्ग्रेड गरिसकिएको छ । अमेरिकासँग यीभन्दा कैयौं गुणा राम्रा जासूसी विमान पनि छन् ।
यस विमानले जमीनबाट ७० हजार फीटमाथि रहेर जमस्नमा भएका ससाना गतिविधिमा पनि नजर राख्न सक्छ । तिनको तस्वीर र एचडी भिडियो बनाउन सक्छ । अनि यसलाई एन्टी एयरक्राफ्ट मिसाइलले छुन पनि सक्दैन ।