
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई निरन्तरता दिइएको भन्ने चर्चाप्रति सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री डा. युवराज खतिवडाले कटाक्ष गरेका छन् ।
उहाँलाई सामाजिक सञ्जालले नै नियुक्ति दिएको होला, सरकारले होइन भन्दै डा. खतिवडाले कटाक्ष गरेका हुन् ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीवार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा डा. खतिवडाले भने, 'उहाँ (कुलमान घिसिङ) लाई सामाजिक सञ्जालले नै नियुक्ति दिएको होला, सरकारले दिएको छैन । सामाजिक सञ्जालले दिएको नियुक्ति सरकारलाई थाहा हुने कुरा भएन ।'
कुलमानको पुनर्नियुक्तिसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा समेत नआएको उनले बताए ।
'मन्त्रिपरिषदमा औपचारिक प्रस्ताव पनि आएको छैन, त्यससम्बन्धी छलफल पनि केही भएको होइन,’ उनले भने ।