
सरकारले काठमाडौंमा जारी गरेको निषेधाज्ञाको प्रभाव संक्रमणमा दुई सातापछि मात्र देखिने विज्ञहरूले बताएका छन् । उनीहरू त्यसअघि आवश्यक तयारी थाल्न सरकारलाई सुझाव दिएका छन् ।
संक्रमितको संख्या बढेपछि काठमाडौं उपत्यकामा भदौ ३ देखि १० गतेसम्म निषेधाज्ञा गरिएको थियो । निषेधाज्ञा थपेर १७ गतेसम्म पुर्याइएको छ । भदौ ३ मा उपत्यकामा संक्रमितको संख्या २ हजार ४ सय ९८ थियो । वाग्मती प्रदेशको तथ्यांकअनुसार काठमाडौं उपत्यकामा संक्रमितको संख्या शुक्रबार ४ हजार ८ सय २० पुगेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का पूर्वनिर्देशक डा. बाबुराम मरासिनी उपत्यकामा निषेधाज्ञा लागू गरे पनि संक्रमितको संख्या अझै थपिँदै जाने बताउँछन् । ‘निषेधाज्ञाको प्रभाव देखिन अझै १४ दिन लाग्छ । योभन्दा अगाडि शरीरमा भाइरस पसिसकेकालाई अहिले देखिन्छ । यो प्रभावकारी भयो कि भएन १७ गतेपछि थाहा हुन्छ,’ उनले भने, ‘तिजका समयमा धेरै भीडभाड भयो । भीडभाड हुनेबित्तिकै त्यहाँ कोरोना संक्रमणको जोखिम भइहाल्छ । सेवाग्राहीको भीड व्यवस्थापन गर्ने योजना बनाउनुपर्छ । चैत १० गते सरकारी कार्यालयमा जस्तो भीड हुन्थ्यो अहिले पनि त्यस्तै छ ।’
संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले निषेधाज्ञा आफैंमा कोरोना संक्रमण नियन्त्रण गर्ने उपाय नभएको बताए । उनका अनुसार निषेधाज्ञालाई महामारी नियन्त्रण गर्न थप तयारी वा मौकाका रूपमा लिन सकिन्छ । ट्रेसिङ र आइसोलेट प्रभावकारी रूपमा भएन भने कोरोना नियन्त्रण हुनै नसक्ने उनले बताए । ‘मानिस अहिले टाढा गएका छैनन् होला, घरभित्रै छन् वा घरवरिपरि टोलमा घुमिरहेका छन् । घर र टोल भित्रभित्रै सरिरहेको हुन सक्छ । लक्षण देखिए पनि यातायात र अरू कडाइले मानिस परीक्षण गर्न जान पाएका छैनन्,’ उनले भने ।
डा. सुवेदीले धेरै परीक्षण गर्न र कन्ट्याक्ट ट्रेसिङ गरेर संक्रमित पत्ता लगाउन सक्नुपर्ने बताए । ‘निषेधाज्ञा गरेर कन्ट्याक्ट ट्रेसिङ बलियो बनाइएको छ कि छैन र सबैलाई परीक्षणको पहुँच छ कि छैन भन्ने कुरामा ध्यान दिनुपर्छ,’ उनले भने, ‘पीसीआर परीक्षण सजिलो बनाउने उपाय अपनाउनुपर्छ ।’
जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डे निषेधाज्ञा लागू भएका बेला कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी बनाउनुपर्ने बताउँछन् । उनले भने, ‘काठमाडौं उपत्यकामा ६० लाख जनसंख्या छ, यहाँ पुलिङ विधि अपनाएर दिनको ५०–६० हजार जनाको परीक्षण गर्ने र कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउने हो भने संक्रमणको यथार्थता थाहा हुन्छ,’ उनले भने ।
उनले निषेधाज्ञाको प्रभाव १० दिनपछि देखिने भएकाले भदौ १७ पछि निषेधाज्ञा खुकुलो गर्ने र जनस्वास्थ्य मापदण्ड कडाइका साथ अनुगमन र निगरानी गर्ने हो भने संक्रमण घट्दै जाने बताए । ‘१० दिनपछि संक्रमण घट्दै गएन भने समुदायमा फैलिने जोखिम रहन्छ,’ उनले भने । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले संक्रमितको संख्या घट्न अझै समय लाग्ने बताए । कान्तिपुर दैनिकमा बुनु थारूले खबर लेखेकी छन् ।