स्याङजा, २२ वैशाख– स्याङ्जाको वालिङ नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसबाट दिलिप प्रताप खाँणको उम्मेदवारी परेको छ । उनले २०४६ सालमा २२ वर्षको उमेरदेखी नै नेपाली काङ्ग्रेस निकट नेपाल विद्यार्थी संघबाट राजनीति शुरु गरेका थिए ।
यस अघि २०५४ सालको स्थानिय निकायको निर्वाचनमा वालिङ नगरपालिकाको उपमेयर पदमा निर्वाचित भई २०५९ सालसम्म काम गरेका थिए ।
वालिङको बिकासका लागि आफुले जिन्दगीको महत्वपूर्ण समय खर्चिएको बताउने खाँणले आफ्नो अबको उम्मेदवारी वालिङलाई स्मार्ट सिटी बनाउने कामको लागि भएको दावी गर्छन् ।
खास गरेर वालिङ नगरपालिकामा बढ्दै गईरहेको अवब्यस्थित घरजग्गा, प्लटिङ, पानीको अभाव र साँघुरो सडकको ब्यबस्थापन गर्न आफू योग्य भएको उनी दावी गर्छन् ।
२०४९ सालदेखी २०५४ सालसम्म शिक्षण पेशामा संलग्न रहेका उनी, २०५४ सालको स्थानिय निर्वाचनमा उपमेयर हुने आकांक्षाले शिक्षण पेशा छोडेर पूर्णकालिन राजनीतिमा आएका थिए । हाल उनी पूर्णामृत भवानी उच्च माविका बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष र घ्याङलिङ प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा पनि अध्यक्षको रुपमा काम गरिरहेका छन् ।