१३ असार २०८३, शनिबार

एसईई सरहका स्वास्थ्यका प्राविधिक विषय तत्काल खारेज नगर्न आग्रह

भदौ १३, २०७७
एसईई सरहका स्वास्थ्यका प्राविधिक विषय तत्काल खारेज नगर्न आग्रह

विकल्प नै नदिएर सीटीईभीटी अन्तर्गत सञ्चालित स्वास्थ्य विषयका प्राविधिक एसईई सरहका कार्यक्रम खारेज गर्ने राष्ट्रिय चिकित्सा शिक्षा आयोगको निर्णयप्रति सरोकारवालाको ध्यानाकर्षण भएको छ । 

निजी प्राविधिक शिक्षालय महासंघले सरकारले कुनै विकल्प र समय नै नदिईकन एकाएक स्वास्थ्य प्राविधिक विषयलाई खारेज गर्ने निर्णय गरेको भन्दै विशेष ध्यानाकर्षण भएको जनाएको छ ।
 
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत सञ्चालित स्वास्थ्य विषयका प्राविधिक एसईई सरहका कार्यक्रम खारेज गर्ने निर्णयप्रति महासंघले ध्यानाकर्षण भएको जनाएको हो । यो खारेज हुँदा देशभरका १३७ संस्था र २३८ वटा कार्यक्रम बन्द हुनेछन् भने तिनमा आवद्ध १० हजारभन्दा धेरै व्यक्ति बेरोजगार बन्नुपर्ने अवस्था आउने महासंघको दाबी छ ।

कोभिड–१९ को कहरकै बीचमा सरकारले गरेको निर्णयप्रति महासंघले ध्यानार्कषण भएको जनाएको हो । एकातर्फ सरकारले नेपालमा ७० प्रतिशतभन्दा बढी  प्राविधिक जनशक्ति उत्पादन गर्ने निर्णय गर्नु, अर्कोतर्फ प्राविधिक क्षेत्रका टीएसएलसी तहको अध्यापनलाई खारेज गर्ने निर्णण गर्नु आफैंमा विरोधाभासपूर्ण रहेको महासंघको भनाई रहेको छ । 

निजी प्राविधिक शिक्षालय महासंघका केन्द्रीय अध्यक्ष बसन्तराज खनालले नेपालको वर्तमान परिस्थितिमा १८ महिनाको कोर्स पूरा गरेका अनमी, सीएमए, ल्याब असिस्टेन्ट लगायतका जनशक्तिको आवश्यकता रहेको अवस्थामा एकाएक कार्यक्रम खारेज गरिनु दुर्भाग्यपूर्ण रहेको बताए । 

कार्यक्रमलाई अपग्रेड गर्न तथा प्राविधिक शिक्षालयलाई स्तरोन्नति गर्न कम्तिमा १ वर्षको समय दिनुपर्ने अध्यक्ष खनालको भनाइ छ । ‘हामीले सधैं नै कार्यक्रम जारी रहोस् भनेका छैनौं तर हटाउने नै हो भने पनि त एउटा विकल्प हुन्छ नि ! कुनै अवधि दिनुपर्ने हुन्छ नि !’ उनले भने ।

केन्द्रीय अध्यक्ष खनालले सामान्य आयस्तर भएका व्यक्तिले समेत अध्ययन गर्न सक्ने र कोरोना लगायतका महामारीमा फन्टलाइनमा रहेर काम गर्ने पनि यही जनशक्ति रहेको कारण यसलाई खारेज गर्नको लागि तत्काल हतार हुने तर्क गरे  ।

चिकित्सा शिक्षा ऐनको दफा ४२ मा टेकेर साउन ३० गते बसेको आयोगको बैठकले यस्तो निर्णय गरेसँगै अनमी, सीएमए, ल्याब असिस्टेन्ट लगायतका २३८ विषय पढाउने १३७ वटा कलेजको सम्बन्धन खारेज हुने भएको छ भने ती विषय पढ्ने र पढेका हजारौं हजार विद्यार्थीको भविष्य अन्योलमा पर्ने भएको छ । यो महामारीका बेलामा देशका विभिन्न ठाउँमा स्वास्थ्य संस्थामा फ्रन्टलाइनमा खटिएकाहरू यिनै विषय पढेका जनशक्ति रहेका छन् । 

महामारीका बेलामा एसईईको परीक्षा नै नदिइकन नतिजा निकालिएको सममा सोही खालको स्वास्थ्य प्राविधिक विषयमा भने यसखालको अव्यावहारिक र अर्को तयारी विनाको निर्णय भएको भन्दै देशभरका सरोकारवालाले आपत्ति जनाइरहेका छन् । यस्तो निर्णयलाई तत्काल कार्यान्वयनमा नल्याउन सम्बन्धित निकायसँग समेत महासंघले आग्रह गरेको छ । 

अनमी, सीएमए, ल्याब असिस्टेन्टलगायत कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको भन्दै निजी प्राविधिक शिक्षालय महासंघ ५ नम्बर प्रदेशका अध्यक्ष अरुणकुमार पाण्डेयले प्रयोगशालालाई विस्तार गर्ने र नागरिकको स्वास्थ्यको अधिकारलाई सुरक्षित गर्नका लागि पनि यी विषयको जनशक्ति उत्पादन गर्न आवश्यक रहेको बताए । 

उनले अहिले कोरोना कहरको बीचमा निर्णय गर्नुभन्दा पनि यो अवस्थामा अझ बढी प्रोत्साहन गर्नुपर्ने सरकारको कर्तव्य भएको भन्दै यसमा सरकारको विशेष ध्यानाकर्षण हुुनुपर्ने बताए ।

विश्वविद्यालय प्रतिष्ठान र त्यस अन्तर्गतका शिक्षण संस्थाले प्रमाणपत्र तहका कार्यक्रम यसै शैक्षिक सत्रदेखि सञ्चालन नगर्ने/नगराउने र सञ्चालमा रहेका यस्ता कार्यक्रमको अध्ययन अवधि पूरा भएपछि स्वतः ‘फेज आउट’ हुने भन्ने निर्णय अपरिपक्व र अव्यावहारिक भएको महासंघका केन्द्रीय महासचिव दूर्गाप्रसाद भुसालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

कार्यक्रमलाई सधैंको लागि निरन्तरता दिनुपर्छ भन्ने मागभन्दा पनि ऐनमा व्यवस्था गरिए बमोजिमको शिक्षालय सञ्चालन गरिरहेका संस्थालाई अपग्रेड (स्तरोन्नति) गर्नको लागि समेत समय उपलब्ध गराउनुपर्ने निजी प्राविधिक शिक्षालय महासंघले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्