२६ असार २०८३, शुक्रबार

साढे ७ करोड खर्चेर बनेको सिटी बसपार्क सञ्चालन नहुँदै भत्कियो, कालोपत्रेमै उम्रियो दुबो

भदौ १३, २०७७
साढे ७ करोड खर्चेर बनेको सिटी बसपार्क सञ्चालन नहुँदै भत्कियो, कालोपत्रेमै उम्रियो दुबो

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित मंगलगढी चोक नजिक २०७३ सालबाट निर्माण गर्न शुरू गरिएको सिटी बसपार्क सञ्चालनमा नआउँदै बसपार्क भित्रको कालोपत्रे उम्किन थालेको छ भने पिचमाथि नै दुबो उम्रिएको छ । 

बसपार्क छेउमै होटल सञ्चालन गर्दै आइरहेका हिम्मत शाहीले भने, ‘बसपार्क सञ्चालन हुनु त टाढाको कुरा भयो । कालोपत्रेभन्दा माथि दुबो उम्रिएको छ । ठाउँठाउँमा कालोपत्रे उम्किसकेको छ ।’

वीरेन्द्रनगर–६ का राकेश पौडेलले भने, ‘कम्तिमा कालोपत्रे गरिएको स्थानमा त्यसरी दुबो नउम्रिनुपर्ने । ठेकेदार र नगरपालिकाको मिलेमतोमा यस्तो कमजोर निर्माण भएको हो । नगरपालिकाले जिम्मा लिने समयमा सबै जाँच गर्नुपथ्र्यो ।’

१५ महिनामा निर्माण कार्य सम्पन्न गर्ने गरी २०७३ सालबाट थालिएको बसपार्क निर्माण कार्य २ पटक म्याद थप गरी निर्माण भएको हो । २०७४ जेठ १४ गते बसपार्क निर्माण सम्पन्न गरी नगरपालिकालाई हस्तान्तरण गर्ने गरी २०७२ माघ १४ गते चांगमिला नरसिंह–जेभीसँग नगरपालिकाले सम्झौता गरेको थियो । सम्झौता गरेको कम्पनीले २०७६ कात्तिकमा नै बसपार्क नगरपालिकालाई हस्तान्तरण गरेको थियो ।

६ करोड ८२ लाख ७५ हजार ८८९ रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको बसपार्क निर्माणमा ढिलाइ हुँदा लागत अनुमानभन्दा ६२ लाख बढी खर्च भएको छ । झण्डै साढे ७ करोड अर्थात् ७ करोड ४४ लाख लागतमा बसपार्कको निर्माण सकिएको हो । नगर विकास कोषको ७ करोड ४५ लाख ऋण अनुदानमा बसपार्क निर्माण गरिएको जनाइएको छ ।

नयाँ बसपार्कमा यात्रुलाई बस्न छुट्टाछुट्टै टर्मिनल भवन, गाडी मर्मतका लागि वर्कशप भवन, टिकट काउन्टर, महिला र पुरुष शौचालय, २ वटा गेट छन ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले गाडी नचलेका कारण दुबो उम्रिएको बताए । उनले ठेकेदारले आफूलाई बसपार्क हस्तान्तरण गरेको १ वर्षभन्दा बढी भइसकेको बताउँदै मर्मत गरेर गाडी चलाइने बताए । उनले कोरोना त्रासपश्चात बसपार्क सञ्चालनको तयारी भइरहेको जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्