
कोरोना भाइरसको संक्रमण रोकथामका लागि जिल्ला प्रशासन कार्यालय कैलालीले निषेधाज्ञा लम्ब्याएको छ।
भदौ ४ गतेदेखि जारी निषेधाज्ञाको प्रभाव सकारात्मक देखिएको भन्दै प्रशासनले भदौ १९ गतेसम्मका लागि लम्ब्याएको जनाएको हो। निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य व्यापार व्यवसाय सञ्चालन गर्न रोक लगाइएको छ।
सुदूरपश्चिम प्रदेशमा शुक्रबारसम्म कोभिड–१९ का कुल सङ्क्रमित पाँच हजार ५९१ जना पुगेकामा सबैभन्दा बढी सङ्क्रमित कैलालीमा एक हजार ६७७ जना पुगेका छन्। यस्तै डोटीमा ९११, अछाममा ८७३, कञ्चनपुरमा ६७३, बाजुरामा ४५२, डडेलधुरामा ३१६, बैतडीमा ३४८, बझाङमा २९७ र दार्चुलामा ४४ सङ्क्रमित पुगेका छन् ।
पछिल्ला दिनमा समुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढेपछि प्रदेशका कैलाली, कञ्चनपुरलगायतका जिल्लामा रोगको रोकथामका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ।