
काठमाडौं, २२ वैशाख — अमेरिकाको आउस अफ रिप्रेजेन्टेटिभ्सले बिहीवार उत्तर कोरियाविरुद्ध नयाँ प्रतिबन्ध लगाउनका लागि प्रचण्ड बहुमतले स्वीकृति दिएको छ । उत्तरको आणविक र ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रम चल्दै गर्दा बढेको तनावबीच यो प्रतिबन्धको प्रस्ताव आएको थियो ।

उत्तरको जहाज उद्योग र दासहरूबाट श्रम लिने काममाथि प्रतिबन्ध लगाउनका लागि एकका विरुद्ध ४१९ मत परेको थियो ।
उत्तर कोरियालाई आतंकवाद समर्थन गर्ने राष्ट्रको सूचीमा फेरि राख्ने कि नराख्ने भन्ने सम्बन्धमा ट्रम्प प्रशासनले ९० दिनभित्र कंग्रेसलाई रिपोर्ट बुझाउनुपर्नेछ । यो सूचीमा परेको देशले थप प्रतिबन्ध खेप्नुपर्छ र उसलाई अमेरिकी वैदेशिक सहायतामा कडीकडाउ हुन्छ ।
प्रशान्त क्षेत्रमा अमेरिकाका शीर्ष सैन्य अधिकृत एडमिरल ह्यारी ह्यारिसले प्योङयाङले अमेरिकामाथि आक्रमण गर्न समर्थ आणविक क्षेप्यास्त्र कुनै पनि बेलामा सफलतापूर्वक बनाउन सफल हुने सांसदहरूलाई चेतावनी दिएका छन् ।
रिपब्लिकन सांसद टमस म्यास्सीले मात्र उक्त प्रतिबन्ध प्रस्तावविरुद्ध मतदान गरेका थिए ।
अब सिनेटले प्रस्तावमाथि विचार गर्नेछ ।
उत्तर कोरियाले आणविक हतियार निर्माणका लागि जुटाउने रकममा रोक लगाउनका लागि यो प्रतिबन्ध प्रस्ताव ल्याइएको हो ।
फक्स न्युजबाट