२२ असार २०८३, सोमबार

सुँगुरको मस्तिष्कमा राखियो न्युरालिंक, रोग उपचारमा प्रभावकारी हुने दाबी (भिडियो)

भदौ १४, २०७७
सुँगुरको मस्तिष्कमा राखियो न्युरालिंक, रोग उपचारमा प्रभावकारी हुने दाबी (भिडियो)

अमेरिकी व्यवसायी इलोन मस्कले न्युरालिंकको प्रोटोटाइप सार्वजनिक गरेका छन् । मस्तिष्कमा राखिने उक्त चिपले कोशिकाहरूसँग संवाद गर्न सक्छ । 

यसलाई केही मानिसले रोग निको पार्ने माध्यम मान्छन् भने केहीले दुःस्वप्न हो भन्छन् । 
 

मस्कको न्युरालिंक एक सुँगुरमा जडान गरेर शुक्रवार देखाइएको थियो । यसले मस्तिष्क र मेरुदण्डका अनेकौं समस्याको उपचार गर्ने उनले बताए । स्मरणशक्तिको क्षय, अन्धोपन, मुटु बाउँडिने समस्या, हृदयघात र लागूऔषध दुर्व्यसन लगायतका समस्या यसले निको पार्ने बताइएको छ । 

म तपाईंलाई हामीसँग भएको कुरा देखाउन पाउँदा उत्साहित छु । यसले तपाईंको दिमाग हल्लाउनेछ,’ मस्कले प्रस्तुतिको आरम्भमा भने । 
 

गर्ट्रुड नामक पोथी सुँगुरलाई खोरबाट निस्कन लगाएर मस्कले त्यसको मस्तिष्कको गतिविधि न्युरालिंकले रियलटाइममा कसरी अध्ययन गरिरहेको छ भनी देखाए । कुल तीन सुँगुरमा उनले न्युरालिंक राखेकोमा दोस्रो सुँगुरमा पहिले नै जडान गरिएको डिभाइस हटाइएको थियो । डिभाइस हटाएपछि मानिसले कसरी स्वस्थ र आनन्दित जीवन बाँच्न सक्छ भनी यसबाट देखिने मस्कदले बताए । तेस्रो सुँगुरमा चाहिँ कुनै डिभाइस राखिएको थिएन र त्यो शायद ‘कन्ट्रोल’ थियो ।

पछि गएर यस डिभाइसलाई ब्लूटूथमार्फत स्मार्टफोन यापमा जोड्न मिल्ने अनि मस्तिष्कमा अनेकौं औषधोपचार र संगीत समेत राख्न मिल्ने मस्कको कम्पनीले आशा गरेको छ । 
 

मस्कले यो जडान एक घन्टाभित्र जडान गर्न सकिने विश्वास लिएका छन् । उनले भने, ‘तपाईं बिहान अस्पताल जानुभयो भने अपराह्नमा त्यहाँबाट निस्कन सक्नुहुन्छ र बेहाश नबनाइकनै उपचार हुन्छ ।’

अमेरिकाको औषधि नियमन संस्था फूड यान्ड ड्रग एडमिनिस्ट्रेसनले न्युरालिंकलाई ब्रेकथ्रु डिभाइसकोसंज्ञा दिँदै यसमा थप परीक्षण गर्न अनुमति दिएको छ । मस्कले चाहिँ यो अहिले आरम्भिक चरणमै रहेको र जटिल समस्याहरू समाधानका लागि थुप्रै काम गर्न बाँकी रहेको बताए । शुक्रवारको प्रस्तुति मानिसलाई यसप्रति आकर्षित गर्नका लागि भएको उनको कथन छ । 

अमेरिकाको सान फ्रान्सिस्कोमा रहेको न्युरालिंक कर्पोरेसन मस्कले सन् २०१६ मा सहसंस्थापना गरेका हुन् । कम्पनीले मस्तिष्कलाई हजारौं इलेक्ट्रोडका साथ कम्प्युटरसँग जोड्न मिल्ने ताररहित इम्प्लान्टहरू विकसित गर्ने लक्ष्य लिएको छ । यसले अन्ततोगत्वा मानिसहरूलाई कृत्रिम बौद्धिकतासँग एकाकार गराउनेछ । 

salt training

कमेन्ट गर्नुहोस्