
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना सङ्क्रमण नियन्त्रण र रोकथाममा कुनै कमीकमजोरी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।
कोभिड–१९ जोखिम न्यूनीकरणका लागि प्रदेश र जिल्ला तथा स्थानीय तहबीच समन्वय बैठकलाई आइतबार सिरहाको लहानमा सम्बोधन गर्दै मुख्यमन्त्री राउतले कोरोना नियन्त्रणका लागि सबै उपाय अवलम्बन गर्न प्रदेश सरकार तयार रहेको बताए।
पहिलो चरणमा जनकपुर, वीरगञ्ज र राजविराजमा कोरोना परीक्षण गर्ने मेसिन जडान भई परीक्षण भइरहेकामा अब प्रदेशका आठ वटै जिल्लामा कोरोना परीक्षण मेसिन खरिद गर्न रकम निकासा भइसकेको बताउँदै मुख्यमन्त्री राउतले ५० वटा भेन्टिलेटर खरिद गर्ने गरी प्रक्रिया शुरु भइसकेको जानकारी दिए।
‘कुनै पनि व्यक्तिलाई कोरोना सङ्क्रमणबाट मृत्यु हुन नदिन प्रदेश सरकारले हरेक उपाय अपनाएको छ,’ मुख्यमन्त्री राउतले भने, ‘जनताको जीवनभन्दा कुनै पनि कुरा ठूलो होइन, त्यसैले हामीले जनताको जीवन रक्षामा गम्भीरता पूर्वक लागेका छौँ।’
जनता बाँचे मात्रै विकासको कुनै अर्थ हुन्छ, त्यही भएर हामी अहिले सम्पूर्ण ध्यान कोरोना नियन्त्रण र रोकथाममै केन्द्रित गरेको मुख्यमन्त्री राउतको भनाइ थियो।