
बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोका एक सहयोगीले राजधानी मिन्स्कमा विरोध गरिरहेका प्रदर्शनकारीहरूलाई नयाँ संविधान बन्दै गरेको बताएका छन् ।
उनले शान्तिका लागि आह्वान समेत गरे जबकि राष्ट्रपति आफैं चाहिँ आफ्नो निवास बाहिर राइफल बोकेर हिँडेको देखिए ।
मिन्स्कमा राष्ट्रपतिको घरअघि भेला भएका विरोधकर्ताहरूले लुकाशेन्कोका एक सहयोगी निकोलाय लाटीशेनोकसँग कुरा गर्ने अवसर पाएका थिए । उनले राष्ट्रपति निर्वाचन धाँधलीरहित भएको सरकारको धारणा दोहोर्याए ।
त्यसपछि उनले विरोधकर्ताहरूलाई सबै मुद्दा शान्तिपूर्ण तवरले समाधान गर्न आह्वान गरे अनि सरकारले नयाँ संविधानको मस्यौदा तयार पारिरहेको बताए ।
नयाँ संविधान बनेपछि आफू पुनः चुनाव लड्नका लागि सोचिरहेको टिप्पणी लुकाशेन्कोले यसअघि नै गरिसकेका छन् ।
तर लुकाशेन्को आफैं चाहिँ शान्तिपूर्ण परिदृश्यका लागि तयार देखिन्छन् । उनको सहयोगीले प्रदर्शनकारीहरूसँग कुरा गरिरहँदा उनी बुलेटप्रूफ भेस्ट र असल्ट राइफल लिएर हिँडिरहेका देखिन्थे ।
अघिल्लो साताको आइतवार पनि उनले त्यस्तै भेस्ट र एके राइफल बोकेको देखिएको थियो । उनलाई मिन्स्कको आकाशमा हेलिकप्टरले घुमाउँदा र उनी घरतिर जाँदै गर्दा बुलेटप्रूफ भेस्ट र राइफलमा देखिएका थिए ।
बेलारुसमा विगत तीन हप्तादेखि अभूतपूर्व विरोध प्रदर्शन हुँदै आएका छन् । राष्ट्रपति निर्वाचनमा धाँधली गरेर लुकाशेन्को पुनर्निर्वाचित भएको भनी विपक्षीहरूले आरोप लगाउँदै विरोध गरिरहेका छन् ।
शुरूमा प्रहरीले चरम दमन गरेपछि विरोध झनै चर्किंदै गयो । हिजो आइतवार एक लाखभन्दा बढी मानिस मिन्स्कमा भेला भएर लुकाशेन्कोको राजीनामा मागेका छन् ।