
रुपन्देहीमा होम आइसोलेनमा बसेकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
जिल्लाको तिलोत्तमा नगरपालिका–५ की ६८ वर्षीया महिलाको आइतवार राति ९ बजे भैरहवास्थित भीम अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको हो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले होम आइसोलेसनमा बसेकी कोभिड–१९ पोजेटिभ महिलाको अस्पताल पुर्याउँदै गर्दा मृत्यु भएको लोकान्तरलाई जानकारी दिए । कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमै बसेकी थिइन् । भदौ ११ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
भीम अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले संक्रमित बिरामी ल्याउँदै गर्दा मृत्यु भएको जानकारी दिए । ‘संक्रमित बिरामीलाई राति ९ बजे ल्याउनुभएको थियो । डाक्टरले एम्बुलेन्सबाट निकाल्दै गर्दा उहाँको मृत्यु भइसकेको रहेछ । उहाँको शव अहिलेसम्म पनि अस्पतालमै छ । व्यवस्थापनको लागि सुुरक्षा निकायलाई खबर गरिएको छ,’ पोखरेलले लोकान्तरसँग भने । रुपन्देहीमा यससँग मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
तिलोत्तमा नगरपालिकाका सिनियर अहेब ईश्वरी पौडेलले मृतक महिला उपचारका लागि बुटवल हस्पिटल प्रालिमा पटक–पटक गएकोबाहेक अन्य कुनै यात्रा विवरण नदेखिएको बताए । मृतक महिलामा मधुमेह र उच्च रक्तचापको समस्या थियो ।