१० साउन २०८३, आइतबार

कोरोनाको अर्को ‘हटस्पट’ बन्दै कारागार, कसरी हुँदैछ संक्रमित उपचार र व्यवस्थापन ?

भदौ १५, २०७७
कोरोनाको अर्को ‘हटस्पट’ बन्दै कारागार, कसरी हुँदैछ संक्रमित उपचार र व्यवस्थापन ?

कोरोनाभाइरस (कोभिड– १९) को संक्रमण पछिल्लो समय कारागारमा पनि देखिएको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी हुँदै पछिल्लो समय कारागारमा पनि कोरोनाभाइरसको संक्रमण देखिन थालेको हो । 

कोरोनाभाइरसको संक्रमण कारागारमा देखिन थालेपछि भयावह हुने देखिएको छ । यसैलाई मध्यनजर गर्दै आइतवार राज्य व्यवस्था समितिका सांसदहरूले कारोनाभाइरसको संक्रमण बढ्दै गएको भन्दै कारागारमा रहेका कैदीबन्दीहरूलाई पछि हाजिर हुने कागजात गराएर छाड्ने विकल्पमा जान सरकारलाई सुझाव समेत दिएका थिए । 

देशभरमा अहिले १ सय ११ जना कैदी बन्दीलाई कोरोना संक्रमण भएको छ, जसमध्ये ४९ जना निको भएका छन् भने ६२ जना उपचाररत छन् ।

८५ जना कारागारमा कार्यरत कर्मचारी र सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएको कारागार व्यवस्थापन विभागका सूचना अधिकारी देवर्षी देवकोटाले बताए । 

देवकोटाका अनुसार देशभरमा ७ वटा कारगारमा कोरोना भाइरसको संक्रमण देखिएको छ । 

वीरगञ्जमा ३३ जना, नेपालगञ्जमा ८ जना, सिराहामा ७ जना, सुनसरीमा ७ जना, स्याङ्जा १ जना, सिन्धुलीमा २ जना र केन्द्रीय कारागारमा ५१ जनामा कैदीबन्दीहरूमा कोरोना संक्रमण पुष्टि भएको छ ।

अहिलेसम्म कारागार व्यवस्थापन विभागले पर्सामा १ सय १८ जना, बाँकेमा ९६ जना, सिराहामा ३० जना, सुनसरीमा १८ जना, सिन्धुपाल्चोकमा १ सय २३ जना, स्याङ्जामा १ जना र केन्द्रीय कारागार सुन्धारामा १ सय ७६ जना कैदीबन्दीको पीसीआर परिक्षण गरेको छ ।

थप ३ सय ४३ जना कर्मचारी र सुरक्षाकर्मीको पीसीआर परिक्षण गरेको कारागार व्यवस्थापन विभागले जनाएको छ । 

कारागारका कैदीबन्दीहरूमा कोरोना संक्रमण देखिएपछि उनीहरूलाई जिल्लाका अस्पताल तथा उपत्यकामा रहेका कारागारका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 

सर्वोच्चको आदेश 

कोरोना भाइरसको संक्रमण देखिएपछि सर्वोच्च अदालतले तत्काल पक्रनै पर्ने बाहेकका अभियुक्तलाई नपक्रन र मिल्ने जति कैदीबन्दीलाई छाड्दै जान भन्दै संख्या कम गर्ने आदेश जारी गरेको थियो । 

‘तत्काल पक्रिनै पर्ने बाहेकका अभियुक्त नपक्रिनू, मिल्ने जति कैदी छाड्दै जानू, मिल्ने जतिलाई रकम लिएर कैद भुक्तान गर्ने व्यवस्था पनि कार्यान्वयन गर्नू, सर्वोच्चको आदेशमा भनिएको थियो ।

सर्वोच्चको आदेश अनुसार कारागारहरूले बाल सुधार गृहमा रहेका बालबालिकालाई अभिभावकको जिम्मा लगाएको र छोड्न मिल्नेलाई धरौटी लिएर छोडेर कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेलले बताए । 

‘कोरोनाको जोखिम कम गर्नलाई सम्माननीय सर्वोच्च अदालतको आदेश अनुसार बाल सुधार गृहमा रहेका बालबालिका र छोड्न मिल्नेलाई धरौटी लिएर छोडेका थियौं,’ महानिर्देशक पोखरेलले लोकान्तरसँग भने ।

गम्भीर खालका बिरामीको अस्पतालमै उपचार

कारागारमा कोरोना संक्रमण पुष्टि भएका कैदीबन्दीलाई आइसोलेट गरेर अस्पतालमा राखिएको छ । 

उपत्यकाका कारागारमा कोरोना संक्रमण पुष्टि भएका कैदीबन्दीलाई कीर्तिपुरको आयुर्वेद तथा अनुसन्धान केन्द्रको भवनको तल्लो तलामा छुट्टै ठाउँ व्यवस्था गरेर राखेको कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेलले बताए । 

‘कीर्तिपुरको आयुर्वेदको भवनको तल्लो तलामा उपत्यकाका कैदीबन्दीहरूलाई राख्ने व्यवस्था गरिएको छ,’ महानिर्देशक पोखरेलले लोकान्तरसँग भने ।

महानिर्देशक पोखरेलका अनुसार आयुर्वेदको भवनमा भएका सबै जना कैदीबन्दीहरू पोजेटिभ देखिएका तर लक्षण नदेखिएकाहरू राखिएका छन् । पोजेटिभ देखिएर लक्षण देखिएकाहरूलाई अस्पतालमै राखिएको छ ।

उपत्यका बाहिरका कोराना संक्रमितको हकमा स्वास्थ्य मापदण्ड अपनाएर कारागारमा छुट्टै ठाउँको व्यवस्थापन गरेर कोरोना संक्रमितहरूको उपचार भइरहेको छ भने गम्भीर खालका बिरामीलाई नजिकैको अस्पतालमा राखिएको छ । 

केन्द्रीय कारागारमा भयावह

​सुन्धारामा रहेको केन्द्रीय कारगारमा कोरोना संक्रमितहरू धमाधम थपिन थालेपछि भयावह हुने अवस्था देखिएको छ ।

आइतबार मात्रै केन्द्रीय कारागार सुन्धारामा रहेका कारागारमा ३५ जना कैदीबन्दीलाई कोरोना संक्रमण पुष्टि भएको थियो भने यसअघि १५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । 

यस्तै कारागारमा सुरक्षामा खटिएका ५६ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

केन्द्रीय कारागारको सोमवारको तथ्यांकअनुसार ३ हजार २ सय ७१ कैदीबन्दी भएको कारागारमा भयावह अवस्था देखिएको हो ।

कोरोना संक्रमण पुष्टि भएकामध्येलाई लक्षण देखिएका र नदेखिएका गरी छुट्टा–छुट्टै व्यवस्थापन गरिएको केन्द्रीय कारागारका जेलर लक्ष्मीप्रसाद बास्कोटाले बताए । 

‘हामीले कोरोना संक्रमण भएकामध्ये लक्षण देखिएका र नदेखिएकालाई छुट्ट्याएका छौं,’ जेलर बास्कोटाले लोकान्तरसँग भने ।

लक्षण देखिएका कोरोना संक्रमितलाई सशस्त्र प्रहरी बलको कोरोना अस्पताल बलम्बुमा पठाइएको र लक्षण नदेखिएकाहरूलाई कीर्तिपुरको आयुर्वेद अनुसन्धान भवनमा पठाइएको जेलर बास्कोटाले बताए । 

६ जना महिलासहित ५१ जनामध्ये केही लाई कीर्तिपुर पठाइएको छ । ३ जनालाई बलम्बु अस्पतालमा पठाइएको छ भने २ जनालाई पठाउने तयारी गरिएको र केही बिरामी केन्द्रीय कारागारको अस्पतालमा राखिएको छ । 

कन्ट्याक्ट ट्रेसिङमा परेकालाई कारागारमै छुट्टै ठाउँ बनाएर राखेको जेलर बाँस्कोटा बताए ।

केन्द्रीय कारागारमा ५ सय कैदीबन्दीलाई राख्न सक्ने क्वारेन्टीन छन् । क्वारेन्टीनमा कन्ट्याक्ट ट्रेसिङमा परेका कैदीलाई राखिएको कारागारले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्