२५ असार २०८३, बिहीबार

गगनले भने- निषेधाज्ञामा होम डेलिभरी झन उपयुक्त, बजारमा भीडभाड हुन नदिन यस्ता सुझाव

‘निश्चित समयमा किनमेल गर्न दिँदा कोरोनाको जोखिम झन बढ्यो’
गगनले भने- निषेधाज्ञामा होम डेलिभरी झन उपयुक्त, बजारमा भीडभाड हुन नदिन यस्ता सुझाव
फाइल फोटो।

नेपाली कांग्रेसका नेता गगन थापाले निश्चित समय तोकेर किनमेल गर्न दिने कुरा अव्यवहारिक र जोखिमपूर्ण रहेको बताएका छन्।

थोरै समय पसल खुल्न दिने र धेरै परिवारका मान्छे एकैपटक पसलमा सामान किन्न जानुपर्ने बाध्यता भएपछि त्यो समयमा झन धेरै भिडभाड हुनु स्वभाविक रहेको उल्लेख गर्दै थापाले यो व्यवस्थाले त झन सरकारले खोजेरै भेटघाट, सम्पर्क गराएको जस्तो भएन र? भनेर प्रश्न गरेका छन्।

स्थानीय प्रशासनले होम डेलिभरी सेवामा रोक लगाएकोप्रति पनि उनले असन्तुष्टि जनाएका छन्।

‘यस सेवाबाट सामान किन्दा अलिकति ध्यान पुर्याउने हो भने त घर सम्म सामान ल्याइदिने सँग त भेटघाट नै हुँदैन । बिना सम्पर्क सामान किन्न सकिने अवस्था थियो,’ पूर्वस्वास्थ्यमन्त्री थापाले साेमबार साँझ फेसबुकमा लेखेका छन्, ‘निषेधाज्ञाको बेला यो त झन उपयुक्त हुनुपर्ने हो, यसलाई व्यवस्थित गर्दै विस्तार गर्नुपर्नेमा किन हो प्रशासनले यस्तो जोखिमको अवस्थामा यसको महत्व बुझ्न सकेन।’

जुन कारणले निषेधाज्ञा जारी भएको छ त्यसलाई उल्लंघन हुनेगरी निर्णय भइरहेको उनको भनाइ छ।

थापाले दुई वटा सुझाव दिएका छन्। जुन यस्ता छन्
१ खाद्यान्न लगायत अत्यावश्यक सामानका पसल निश्चित समय खोल्न दिने प्रबन्धलाई परिवर्तन गरी यस्तो पसल बिहान ६ बजेबाट साँझ ८ बजेसम्म खोल्न दिने व्यवस्था गरौं। प्रत्येक घरपरिवारलाई एउटा पासको व्यवस्था गरौं। पास लिएर आउनेले कुनै पनि समयमा तोकिएको क्षेत्रभित्रको पसल जान पाउने प्रबन्ध गरौं।

पास भएको व्यक्ति मात्र घर बाहिर निस्कन पाउने भएकाले एकपटकमा एक घरपरिवारबाट एकजना मात्रै बाहिर निस्कन सक्छ जसले पसलमा एकैपटक भीडभाड हुन पाउँदैन।

टोलको जनसंख्या हेरेर, धेरै जनसंख्या भएको क्षेत्रको हकमा बार अनुसार छुट्टै पासको व्यवस्था गर्न सकिन्छ। यसरी व्यवस्था गर्दा भीडभाड नहुने भएकैले पसलमा अनिवार्य २ मिटरको सुरक्षित दुरी पनि कायम राख्न सकिन्छ र ग्राहकको आवश्यक रेकर्ड पनि राख्न सकिन्छ।

२. काठमाडौँ उपत्यकामा होम डेलिभरीलाई व्यवस्थापन गर्न मापदण्ड बनाउने समिति बनेको छ। यो समितिले मापदण्ड बनाउँदा होम डेलिभरी सेवालाई संकुचित बनाउने नभई व्यवस्थित बनाउने सोच राख्नुपर्छ। अनलाईन मार्फत कारोबार गरिरहेका व्यवसायीको हकमा ईकमर्शले र होम डेलिभरी संचालन गर्ने भनि अनुमति पाएमा कम्पनीले के कस्ता सामान डेलिभरी गर्छन्, जनशक्ति कति छ, सवारी साधन कति छन्, कसरी सेवा दिन चाहेको हो सबै जानकारी स्थानीय प्रशासनमा गराउने व्यवस्था गरौं। अहिलेको लागि होम डेलिभरीका लागि सञ्चालन गर्ने सवारीसाधन र जनशक्तिको संख्या तोकौँ अनि कम्पनीको कार्यालय (जहाँबाट सामान लोड गरिन्छ) त्यहाँ पनि सबैले स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य अपनाउने र जुन घरमा सामान डेलिभरी गरिन्छ त्यो ठाँउमा उपभोक्तासँग पनि सुरक्षित दुरी कायम गरी कारोबार गर्ने व्यवस्था बनाऔं। सम्भव भएसम्म सम्पर्कमा नै नहुने कुरालाई प्रोत्साहन गरौं।

यसरी कारोबार गर्दा होम डेलिभरी गर्ने व्यवसायसँग हामी डराउनु पर्दैन। यसबाट त मान्छे घरबाट निस्कने सम्भावना झन् कम हुन्छ जसले निषेधाज्ञा लगाउनुको अर्थ साबित गर्छ जुन हामीले चाहेका हौं।

salt training

कमेन्ट गर्नुहोस्