१० साउन २०८३, आइतबार

विपन्नको उत्थानका लागि वीरेन्द्रनगरमा सवा करोडको साझेदारी कोष, २४९ जना लाभान्वित

भदौ १५, २०७७
विपन्नको उत्थानका लागि वीरेन्द्रनगरमा सवा करोडको साझेदारी कोष, २४९ जना लाभान्वित

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरले एक करोड १९ लाख ७८ हजार रुपैयाँको साझेदारी विकास कोष स्थापना  गरी सञ्चालनमा ल्याएको छ।

नगरपालिकाका वरिष्ठ सामाजिक परिचालक ज्योति केसीका अनुसार गत आर्थिक वर्षमा स्थापना गरिएको उक्त कोषबाट नगरपालिकाका २ सय ४९ जनाले स्वरोजगारमूलक कार्यक्रममा लाभ लिएका छन्।

कम्तीमा ३५ हजारका दरमा रुपैयाँ टोल विकास समितिको सिफारिसको आधारमा वितरण गर्ने गरेको नगरपालिकाले डोको व्यापार गर्ने, खसी पाल्ने, घुम्ती स्थापना गर्न, खुद्रा पसल गर्न जस्ता साना व्यवसाय गर्नका लागि वार्षिक १२ प्रतिशत व्याजदरमा ऋण लगानी गरिरहेको हो।  हरेक वर्षमा ऋण चुक्ता गरेमा टोल विकास समितिले गरेको सिफारिसको आधारमा सोही व्यक्तिलाई ४० हजारसम्मको व्याज दिइने गरिएको केसीको भनाइ छ।

वीरेन्द्रनगर नगरपालिकाले गत आर्थिक वर्षमा ३२ लाख ४० हजार रुपैयाँ समुदायमा लगानी गरेको छ। २८ लाख ३२ हजार ४७ रुपैयाँ असुली गरेको छ भने ९ लाख १७ हजार ३ सय ९१ रुपैयाँ व्याज असुली गरेको छ।

केसीका अनुसार यो कोषमार्फत समूदायमा ७० लाख ९७ हजार ७ सय २० रुपैयाँ र स्थानीय विकास कोषको ४८ लाख ८० हजार ९ सय १२ रुपैयाँ गरी एक करोड १९ लाख ७८ हजार ६ सय ८४ रुपैयाँ समुदायमा गएको हो। यो रकमबाट विना धितो सामान्य व्यवसाय गर्नेका लागि वीरेन्द्रनगरका तीन सय ५५ टोल विकास समितिले आवश्यकता हेरेर लगानी गरिरहेको उनको भनाइ छ।

 कार्यवाहक मेयर मोहनमाया ढकालले न्यून आय भएका गरीब, पिछडिएका महिलाका लागि यो कोषले बिना धितो ऋण लगानी गरिरहेको बताइन्। लोकान्तरसँग कुरा गर्दै उनले सकेसम्म पछाडि परेका हरेक व्यक्तिले सानो रकमका लागि अन्यत्र धाउन नपरोस् र आत्मनिर्भर बन्न थोरै भए पनि सहजै ऋण पाओस् भन्ने उद्देश्यका साथ यो कोष सञ्चालनमा ल्याइएको बताइन्।

यसअघि यो कोषबाट ऋण लिएकाको ऋण तिर्ने म्याद चार महिना थप्ने र लकडाउनको सुरुको अवधिको व्याज दुई प्रतिशतका दरले मिनाहा गर्ने निर्णय भएको नगरपालिकाका अधिकृत टंक लामिछानेले लोकान्तरलाई बताए।

जिल्ला समन्वय समितिका समन्वय अधिकारी दुर्गाप्रसाद चालिसेले समुदाय स्तरमा जाने यस्ता कार्यक्रम प्रभावकारी हुने बताउँदै स्थानीय विकास कोष र साझेदारी विकास कोष मर्ज गर्न सुझाव दिए। 

salt training

कमेन्ट गर्नुहोस्