०४ साउन २०८३, सोमबार

भर्चुअल तेक्वान्दाेमा सेनाका नीतालाई स्वर्ण, दीपेन्द्रलाई रजत

भदौ १५, २०७७
भर्चुअल तेक्वान्दाेमा सेनाका नीतालाई स्वर्ण, दीपेन्द्रलाई रजत
फाइल फोटो।

‘प्रथम काठमाडौँ भर्चुअल राष्ट्रिय खुला तेक्वान्दो (पुम्से) च्याम्यिनसिपमा नेपाली सेनाका निता गुरुङले स्वर्ण तथा सेनाकै दीपेन्द्र गुरुङले रजत पदक जितेका छन्।

महिला एकलतर्फ १८ वर्षदेखि ३० वर्ष उमेर समूहमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका निताले ६ दशमलव ७० अङ्क प्राप्त गर्दै स्वर्ण पदक जितेका हुन्।

सेनामा प्युठ दर्जामा कार्यरत निता गत वर्ष मङ्सिरमा नेपालमा सम्पन्न भएको १३ औँ दक्षिण एशियाली खेलकूद (साग) मा स्वर्ण पदक विजेतासमेत हुन्। उनले १३ औँ सागकै स्वर्ण पदक विजेता सञ्जिला तिम्सिनालाई पराजित गरेकी थिइन्।

स्युचाटारको टोलीबाट खेलेकी सञ्जिलाले ६ दशमलव ५६ अङ्क प्राप्त गर्दै रजत पदकमा चित्त बुझाइन्। सो स्पर्धामा मुलपानी क्लबका चन्दु शाहीले ६ दशमलव १६ अङ्क तथा दाङका सुनिता विष्टले ५ दशमलव ४३ अंकका साथ कास्य पदक प्राप्त गरे।

यसैगरी पुरुषतर्फ १८ वर्षदेखि ३० वर्ष उमेर समूहमा सेनाको त्रिभुवन आर्मी क्लबका दिपेन्द्रले रजत पदकमै चित्त बुझाउनु प-यो। सेनामा सिपाही दर्जामा कार्यरत उनी नेपाल प्रहरीका प्रेमबहादुर लिम्बूसित पराजित भए। प्रमुबहादुरले ६ दशमलव ७३ अङ्क प्राप्त गर्दै स्वर्ण पदक जिते। दीपेन्द्रले उक्त स्पर्धामा ६ दशमलव ५० अङ्क प्राप्त गरे।

प्रहरीका प्रेमबहादुर र सेनाका दीपेन्द्र १३औँ सागका कास्य पदक प्राप्त खेलाडी हुन् । सो स्पर्धामा मुलपानी क्लबका पुष्पप्रसाद गौतमले ६ दशमलव २० अङ्क तथा दोलखाका नोर्बु मोक्तानले ५ दशमलव ९६ अङ्क प्राप्त गर्दै कास्य पदक प्राप्त गरे।

काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घद्वारा आयोजित उक्त प्रतियोगितामा १९ टोलीका १७० खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगितामा अशोक खड्का, मीन न्यौपाने, हीराबहादुर थापा, नोर्बु लामा र विक्रम खड्गीले निर्णायकको भूमिका निर्वाह गरेका थिए।

salt training

कमेन्ट गर्नुहोस्