
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) र नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले समुदायमा कोरोना भाइरस संक्रमणको अवस्थाबारे जान्नका लागि छुट्टाछुट्टै रूपमा ‘सेरोप्रिभेलेन्स’ अध्ययन गर्ने भएका छन् । दुवै अध्ययनका लागि एनएचआरसीको इथिकल कमिटीमा प्राप्त प्रस्ताव आइतबार अनुमोदन भएको हो । सेरोप्रिभेलेन्स समुदायमा संक्रमणको अवस्था पत्ता लगाउने विधि हो ।
ईडीसीडीले पहिलो चरणमा प्रत्येक प्रदेशमा ४ सय ५० जनाका दरले ३ हजार १ सय ५० जनाको एन्टिबडी परीक्षण गर्नेछ । सेरोप्रिभेलेन्स टेस्टका लागि सातै प्रदेशमा विभिन्न मापदण्डका आधारमा निर्धारण गरिएको स्थानबाट निश्चित व्यक्तिका रगतको नमुना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गरिने छ । ‘हामीले सेरोप्रिभेलेन्स अध्ययन गरेर समुदायमा कुन संक्रमणको दर हेर्न खोजेका हौं, सबै काम द्रुत गतिमा अगाडि बढिरहेको छ,’ ईडीसीडीका महानिर्देशक डा. वासुदेव पाण्डेले भने ।
एनएचआरसीले भने काठमाडौं उपत्यकाभित्र सय जनाभन्दा बढी कार्यरत रहेका अस्पतालका चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मीका साथै तिनका परिवारको समेत एन्टिबडी परीक्षण गर्नेछ । एनएचआरसीले बनाएको मापदण्डअनुसार ७ सय ८४ जना स्वास्थ्यकर्मी तथा स्नोबल स्याम्पलिङका आधारमा ७ सय ८५ जना स्वास्थ्यकर्मीको परिवारका सदस्यको परीक्षण हुनेछ । एनएचआरसीले संकलन गरेको नमुना भने कुनै एक सरकारी अस्पतालमा परीक्षण गरिने छ ।
‘ईडीसीडीले समुदायको परीक्षण गर्ने भएपछि हामीले स्वास्थ्यकर्मी र तिनका परिवारमा मात्र केन्द्रित भएर सेरोप्रिभेलेन्स अध्ययन गर्न लागेका हौं,’ एनएचआरसीका कार्यकारी प्रमुख तथा सदस्य सचिव डा. प्रदीप ज्ञवालीले भने, ‘आइतबार दुवै अध्ययनका लागि इथिकल कमिटीले प्रस्ताव अनुमोदन गर्यो ।’
उनका अनुसार चैत ११ पछि काठमाडौं उपत्यका छोडेर बाहिर नगएका स्वास्थ्यकर्मी र तिनका परिवारलाई मात्र यो अध्ययनमा सामेल गराइनेछ ।
चार चरणमा हुने यस अध्ययनको पहिलो चरणमा स्वास्थ्यकर्मीको नमुना संकलन गरिनेछ भने त्यसको सातापछि मात्र परिवारका सदस्यको नमुना संकलन गरिनेछ । स्वास्थ्यकर्मीको पुनः ३ र ६ सातामा नमुना संकलन गरेर अध्ययनलाई मूर्त रूप दिइनेछ । ईडीसीडीले सेरोप्रिभेलेन्स अध्ययनका लागि एन्टिबडी परीक्षण गर्न ईएलआईएसए (इन्जाइम लिंक्ड इम्युनोअब्जर्बेन्ट एस्से) विधि प्रयोग गर्ने छ भने एनएचआरसीले अध्ययनका लागि सीएलआईए (केमिल्युमिनिसेन्ट इम्युनोएस्से) विधि अपनाउने छ ।
ईडीसीडीस्थित स्रोतका अनुसार ईएलआईएसए विधिबाट परीक्षण गर्न आवश्यक पर्ने रिएजेन्ट सहयोग स्वरूप प्राप्त गर्नका लागि विश्व स्वास्थ्य संगठनसँगको सहकार्यमा स्वास्थ्य मन्त्रालयले विभिन्न मित्रराष्ट्रसँग छलफल गरिरहेको छ । भारत, दक्षिण कोरिया, चीन र अमेरिकालगायत देशलाई सहयोगका लागि पत्राचार गरिएको छ । अध्ययनका लागि नमुना संकलन गर्ने संकलक खटाउन विश्व स्वास्थ्य संगठनले मंगलबार एक संस्था छनोट गर्दै छ ।
उक्त संस्थाले फिल्डमा खटाउने कर्मचारीलाई विश्व स्वास्थ्य संगठनको सहयोगमा ईडीसीडीले तालिम दिएपछि नमुना संकलनको काम सुरु हुनेछ । सबै काम सकेर असोज १ तिर नमुना संकलन गर्न फिल्डमा सबै जना खटिने तयारी छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झाका अनुसार ईडीसीडीले गर्ने परीक्षणमा प्रयोगशालाका तर्फबाट ईएलआईएस गर्ने मेसिन र जनशक्ति मात्र प्रदान गर्न लागेको हो । ‘
ईडीसीडीले ल्याएर दिएको नमुना हामीले परीक्षण गरिदिने हो, अहिलेसम्म ईएलआईएसए विधिबाट परीक्षण गर्ने तय भएको छ,’ उनले भनिन्, ‘उक्त परीक्षणमा प्रयोग हुने रिएजेन्ट पनि उहाँहरूले नै दिनुहुन्छ । त्योभन्दा बढी मलाई पनि केही थाहा छैन ।’
एनएचआरसीले गर्ने अध्ययनका लागि आवश्यक पर्ने सीएलआईएको रिएजेन्ट कुन प्रयोग गर्ने भन्ने मापदण्ड बनाइएको र सोहीअनुसार खरिद प्रक्रिया अगाडि बढाउने सदस्य सचिव डा. ज्ञवालीले जानकारी दिए । ‘हामीले कस्तो खालको रिएजेन्ट प्रयोग गर्ने भनेर पनि मापदण्ड तय गरेका छौं, सोहीअनुसारको सामग्री लिएर प्रयोग गर्छौं,’ उनले भने ।
स्वास्थ्य मन्त्रालयले कोरोना रोकथाम तथा नियन्त्रणका लागि नयाँ प्रविधि तथा परीक्षण नेपालमा प्रयोग गर्नेसम्बन्धी सुझाव दिनका लागि गठन गरेको ‘एच–टेक कमिटी’का सदस्यका अनुसार सो कमिटीले ईएलआईएसए वा सीएलआईए (केमिल्युमिनिसेन्ट इम्युनोएस्से) मध्ये जुन गरे पनि हुने भनेर सुझाव दिएको थियो । ती सदस्यका अनुसार ईएलआईएसएभन्दा सीएलआईए नयाँ प्रविधि हो । परीक्षणको हिसाबमा पनि सीएलआईएको प्रभावकारिता ईएलआईएसएभन्दा केही बढी देखिएको छ ।
‘हाम्रो कमिटीको काम सुझाव दिने मात्रै हो, हामीले निर्देशन दिन मिल्दैन,’ एक सदस्य भने, ‘यो प्रविधि राम्रो छ भनेर सुझाव दिनुको अर्थ बुझ्नेले आफैं बुझ्नुपर्छ ।’
संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारीका अनुसार भने सेरोप्रिभेलेन्स परीक्षणका लागि धेरै समय खेर गइसकेको छ । त्यसैले हाल नेपालमा ईएलआईएसए र सीएलआईएमध्ये जुनको गुणस्तरीय रिएजेन्ट सजिलैसँग प्राप्त हुन्छ, त्यही प्रयोग गरेर परीक्षण गरिहाल्नु उचित हुन्छ । ‘जहिल्यै अन्तिम समयमा आएर कहाँबाट कसले दिन्छ भनेर कुरेर बस्नु हुन्न,’ उनले भने, ‘समय घर्किएपछि गरेर केही अर्थ हुँदैन । त्यसैले अन्यत्र देशसँग हात फैलाउनुभन्दा देशभित्र के उपलब्ध छ, त्यो पनि खोजखबर गरे राम्रो हुन्छ ।’
बेलायतबाट प्रकाशित हुने विश्व प्रसिद्ध ब्रिटिस मेडिकल जर्नलमा एन्टिबडी परीक्षणका लागि प्रयोग हुने विभिन्न विधिको प्रभावकारिताबारे प्रकाशित विभिन्न ४० वैज्ञानिक लेखहरूको समीक्षा तथा सूक्ष्म विश्लेषणअनुसार एन्टिबडी परीक्षणका लागि सबैभन्दा बढी उपयुक्त सीएलआईए देखिएको दाबी गरिएको छ । त्यसपछि ईएलआईएसए र अन्तिममा एलएफआईए (ल्याटरल फ्लो इम्युनोएस्से) देखिएको उल्लेख छ ।
यसअघि विवादमा तानिएको आरडीटी किटमा एलएफआईए विधिबाट नै परीक्षण हुने गर्छ ।
ईडीसीडी तथा एनएचआरसीले गर्न लागेको सेरोप्रिभेलेन्स टेस्टमा समुदायमा गएर संकलन गरिएको रगतको नमुनामा इम्युनोग्लोब्युलिन जी (आईजीजी) छ या छैन भनेर हेरिनेछ । सकेसम्म आईजीजीको क्वान्टिटेटिभ परीक्षण गर्ने तय गरिएको छ । ‘आईजीजी छ या छैन भनेर मात्रै होइन, कति छ भनेर पनि हेर्ने भन्ने छ,’ ईडीसीडी स्रोतले भन्यो, ‘तर त्यसका लागि किट पनि त्यहीअनुसारको चाहिन्छ । अहिलेसम्म कहाँबाट कुन किट आउने भन्ने तय भएको छैन ।’
एन्टिबडी परीक्षणमा रगतमा कुनै पनि संक्रमणविरुद्ध रोग प्रतिरोधी प्रोटिन छ या छैन भनेर हेर्ने गरिन्छ । यही प्रोटिनलाई एन्टिबडी भनिन्छ, जुन दुई प्रकारको हुन्छ– ‘इम्युनोग्लोब्युलिन–एम’ (आईजीएम) र ‘इम्युनोग्लोब्युलिन–जी’ (आईजीजी) । आईजीएम शरीरमा संक्रमण भएको थोरैमा पनि तीन दिनपछि मात्रै उत्पादन सुरु हुन्छ । अनि संक्रमण भएको केही सातापछि (थोरैमा पनि दुई साता) आईजीएमको स्थानमा शरीरले आईजीजी उत्पादन गर्न थाल्छ ।
सामान्य रूपमा बुझ्दा शरीरमा आईजीएम देखिनु भनेको संक्रमणको सुरुवाती अवस्था हो भने आईजीजी देखिएमा संक्रमण भएर पनि त्यसविरुद्ध शरीरमा प्रतिरोधी क्षमता विकास भयो भन्ने बुझिन्छ । कान्तिपुर दैनिकमा स्वरुप आचार्यले खबर लेखेका छन् ।