३१ असार २०८३, बुधबार

महर्षि वशिष्ठ र उनको जीवनगाथा

कात्तिक २०, २०७४
महर्षि वशिष्ठ र उनको जीवनगाथा
वैदिक ग्रन्थहरूमा महर्षि वशिष्ठको विशिष्ट स्थान छ । क्षमाधर्मका जीवन्त प्रस्तुति यी महर्षि सेवा र परोपकारको क्षेत्रमा पनि पर्यायवाचीका रूपमा रहेका छन् ।kamal rijal
लामो समयदेखि सूर्यवंशी राजाहरूको कुलपुरोहित रहेर सेवा प्रदान गर्दै आएका यी महर्षिले परेको बेला सामान्य जनताको समेत उत्तिकै सेवा र उपकार गरेका छन् । उनले दिलीप र दशरथ जस्ता चक्रवर्ती राजाहरूको पुत्रेष्टि यज्ञ गराएर वंशपरम्परा नै चलाइदिएका छन् भने अनावृष्टि र दुर्भिक्षको बेला तपोबलद्वारा वर्षा गराई सारा संसारको उद्धारसमेत गरेका छन् ।
हाम्रा वेद, पुराण आदि ग्रन्थहरूमा उल्लेख भए अनुसार उनी पृथ्वीलोकदेखि स्वर्गलोकसम्म बेरोकटोक जान र आउन सक्ने व्यक्तित्वमा पर्दछन् । उनले पटक–पटक स्वर्गसम्म पुगेर वैदिक अनुष्ठान पूरा गरी देवराज इन्द्रको मनोकामना पूरा गरेका मात्र छैनन्, स्वर्गका वैद्य अश्विनीकुमारसँग मित्रताको बलियो डोरी नै बाटेका छन् । उनले आफैंलाई मार्न आएका विश्वामित्रलाई उल्टै लामो समयदेखि आफूले धारण गर्दै आएको ब्रह्मर्षिको पदले विभूषित गरेर त्याग र मर्यादाको जुन अद्भुत उदाहरण पेश गरेका थिए, त्यसको आजसम्म पनि सारा संसारले प्रशंसा गर्दै आएका छन् ।
पौराणिक ग्रन्थहरूमा उल्लेख भएअनुसार उनी ब्रह्माजीको मानसपुत्र हुन् । उनको जन्म आदिकल्पमा ब्रह्माजीको प्राणशक्तिबाट भएको थियो तर आफ्नै यजमान राजा निमिको श्रापको कारण उनलाई सो शरीर त्याग्नुपरेको थियो । त्यसैले उनलाई पछि मित्रावरुणको अंशबाट पुनः जन्मनुपरेको थियो । यतिबेला उनको माताजीको भूमिकामा स्वर्गकी अप्सरा उर्वशी देखिएकी छन् । त्यसैले उनलाई उर्वशीको मानसपुत्र भन्ने गरिएको पनि पाइएको छ । जतिबेला महर्षि वसिष्ठले राजा निमिको श्रापको कारण शरीर त्याग्नुपरेको थियो त्यति बेलादेखि नै उनी कुनै न कुनै रूपले अर्को शरीर धारणको प्रतीक्षामा थिए । संयोगवश त्यति नै बेला उर्वशीलाई देखेर मित्रावरुणको वीर्यपात हुन पुगेको थियो । त्यसपछि आश्चर्य मान्दै मित्रावरुणले त्यस वीर्यलाई एउटा यज्ञको कलशमा राखेर संस्कार गर्ने काम गरे । अन्ततः सोही घडाबाट उनको र अर्का महर्षि अगस्तिको जन्म हुन पुगेको हो ।Jeewan Darshan
यद्यपि उनको जन्मप्रकरण सुन्दा कतिपयलाई आश्चर्य लाग्न सक्छ, तर हामीले कुन कुरालाई बिर्सन हुन्न भने उनले आधुनिक विज्ञानले भर्खर देखेको टेस्टट्युब बेबीको खाता त्यतिबेलै आफ्नै जन्मसंस्कारबाट खोलिदिएका थिए । यसबाहेक उनलाई कतै कतै आग्नेयपुत्रको रूपमा उल्लेख गरिएको पनि भेटिन्छ भने कतै प्राणशक्तिको रूपमा लिने गरिएको पनि पाइन्छ ।
महर्षि वशिष्ठ वर्तमान मन्वन्तरको सप्तऋषिमध्येमा पनि पर्छन् । उनीबाहेक यस मन्वन्तरका अन्य ऋषिमा कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम र जमदग्नि रहेका छन् । यसबाहेक उनी गोत्र प्रवर्तक ऋषि पनि हुन् । उनी वशिष्ठ गोत्रको प्रवर्तक रहेका छन् । यस गोत्रभित्र भट्टराई, खनियाँ, खरेल, गाम्नागे, चालिसे, दवाडी, द्विवेदी, पन्त, पाठक, विष्ट, भण्डारी, मरहट्टा, मुडभरी, सोती आदि झण्डै तीन दर्जन थर रहेकाले यी सबै उनकै गोत्रीय परिवार मानिन्छन् । कतिपय विद्वानहरूले उनको आश्रम हालको देवघाट क्षेत्रमा रहेको बताउँदै आएका छन् । यस आधारमा भन्नुपर्दा उनी नेपालकै भूमिपुत्र रहेका देखिन्छन् तर ‘वसुधैव कुटुम्बकम्’ दर्शनका धनी यस्ता महर्षिलाई एउटा कुनै भूगोलभित्र बाँध्नखोज्नु हुँदैन र बाँध्दा पनि बाँधिदैनन् । होला उनको भौतिक आश्रम यतै कतै तर योगदान भने संसारभरि छरिएर रहेको छ ।
उनी वैदिक मन्त्रद्रष्टा ऋषि पनि हुन् । वैदिक ग्रन्थहरूमा उनको स्थान अति समुन्नत अवस्थामा देखिन्छ । ऋग्वेदको सातौं मण्डल उनैद्वारा साक्षात्कार भएका मन्त्रहरूको सँगालो हो । यस मण्डलमा कुल १०४ सूक्त र ८३९ वटा मन्त्र छन् । यसमध्ये ३३ औं सूक्त भने उनका छोराहरूले देखेका सूक्त मानिएको छ । कुल १४ वटा मन्त्र रहेको यस सूक्तमा वशिष्ठका छोराहरूले योगबलद्वारा देखेका बुवा वशिष्ठको जन्मवृत्तान्तको रोचक वर्णन छ । वशिष्ठद्वारा देखिएका मन्त्रहरूको सँगालो भएकाले यस मण्डललाई वाशिष्ठ मण्डल पनि भनिन्छ । यस मण्डलमा अग्नि, इन्द्र, वरुण, अश्विनीकुमार, मित्रावरुण, द्यावापृथिवी, आदित्य, विश्वेदेव, वास्तोस्पति, सविता, भग, ऊषा आदि देवी देवताहरूसित प्रार्थना गर्दै यी महर्षिले रोग निवारण तथा मृत्युनिवारणको क्षेत्रमा, अनावृष्टि हटाउँदै उत्पादन बढाउने क्षेत्रमा र वास्तु शान्ति एवं सामाजिक हित सम्वर्द्धनको क्षेत्रमा जे–जस्ता उपायका खोजिगरेका छन् निस्सन्देह त्यो स्तुत्य छ ।
सप्तम मण्डलका १०४ वटा सूक्तमध्ये कतिपय सूक्त विशिष्टीकृत सूक्तमा समेत परेका छन् । यसअनुसार ३५ औं सूक्त कल्याण सूक्तको रूपमा रहेको छ । यसमा कुल १५ वटा मन्त्र छन् । यी मन्त्रहरूद्वारा सर्वकल्याणको कामना गरिएको छ । त्यस्तै ४१ औं सूक्तलाई भगसूक्त भनिएको छ । यस सूक्तमा कुल सात मन्त्र छन् । यी मन्त्रहरूद्वारा दीर्घायुष्यको कामना गरिएको छ । त्यसैगरी ५४ औं सूक्तलाई वास्तोस्पति सूक्त भनिन्छ । कुल तीनवटा मन्त्र रहेको यस सूक्तले गृह निर्माणमा वास्तुको स्थान, दोष तथा दोषनिवारण सम्बन्धी विषयमा सम्यक् विवेचन भएका छन् । त्यस्तै अन्तिम १०४ औं सूक्तलाई रक्षोघ्न सूक्त भनिएको छ । यस सूक्तमा कुल २५ मन्त्र छन्, जसले सर्वोपद्रवशान्तिको कामना गरेका छन् ।
वैदिक मन्त्रद्रष्टा ऋषिहरूमा उनी पनि पारिवारिक ऋषिमै पर्छन् । उनको श्रीमतीको नाम अरुन्धती हो, जो अहिले पनि वैदिक संस्कृतिमा परम आदर्श नारीको नामले परिचित छिन् । ऋग्वेदले महर्षि वशिष्ठको १२ भाइ छोराको नाम उल्लेख गरेको छ । मन्त्रद्रष्टा ऋषिहरूमध्येमै पर्ने यी ऋषिहरूमा मन्यु, उपमन्यु, व्याघ्रपात्, मृलीक, वृषगण, प्रथ, इन्द्र–प्रमति, द्युम्निक, चित्रमहाः, कर्णश्रुत, वसुक्त र शक्ति रहेका छन् । यीबाहेक उनका वसुकृद् वासुक्र, वसुकर्ण वासुक्र, पराशर शाक्य र गौरवीति शाक्य आदि चारवटा नातिहरू पनि मन्त्रद्रष्टा ऋषिमै पर्छन्, जसका मन्त्रहरू ऋग्वेदका विभिन्न मण्डलहरूमा छरिएर रहेका छन् । साथसाथै पराशर, व्यास तथा परमहंस शिरोमणि शुकदेव स्वामीसमेत उनकै वंशपरम्पराभित्रका विभूति हुन् । यसो त पौराणिक ग्रन्थहरूमा उनका सय भाइ छोराहरूको समेत चर्चा भेटिन्छ, जो महर्षि विश्वामित्रको क्रोधको शिकार हुन पुगेका थिए ।
ऋग्वेदबाहेक यजुर्वेद, सामवेद तथा अथर्र्ववेदमा पनि महर्षि वशिष्ठद्वारा दृष्ट मन्त्रहरूको उल्लेख भेटिन्छ । यसबाहेक उनले शान्ति, सदाचार, पाप, पुण्य, धर्म, अर्थ, काम, मोक्ष आदि शास्त्रीय मर्यादाको क्षेत्रमा पनि उत्तिकै ध्यान दिएका छन् । उनका वसिष्ठधर्मसूत्र तथा वसिष्ठस्मृति आदि ग्रन्थहरूमा यस्तै कुराका चर्चा भएका छन् । साथैसाथै योगवाशिष्ठ जस्तो बेजोड आध्यात्मिक ग्रन्थ पनि उनकै कृति हो । उनले यसैमार्फत नै भगवान् रामलाई मुक्तिको मार्ग देखाउने काम गरेका थिए । ज्ञान र वैराग्यका परम खानी मानिएका यी महर्षि युद्धनीति र अस्त्रनीतिमा पनि उत्तिकै पारङ्गत देखिएका छन् ।
वेद, पुराण सबैले प्रशंसा गरेका यी महर्षिका जीवनदर्शन साँच्चै आदर्शमय छ । आजका मानिसले उनको जीवन चरित्रको अवलम्बनको त कुरै छाडौं, सम्यक् अध्ययनसम्म मात्र गर्न सक्ने हो भने पनि पक्कै आजको सामाजिक स्वरूप अर्कै हुनेछ । यस्ता युगद्रष्टा र आदर्श समाजको स्रष्टा महर्षि वशिष्ठ सम्प्रति भौतिकरूपले त हामी माझ छैनन्, तर उनको नाम, यश र कीर्तिको भने अहिलेसम्म पनि उत्तिकै प्रशंसा हुँदै आएको छ र हुँदै रहने पनि छ ।

salt training

कमेन्ट गर्नुहोस्