३१ जेठ २०८३, आइतबार

पोखरीमा धमिलो भेल पस्दा १२ लाखको माछा नष्ट

भदौ २३, २०७७
पोखरीमा धमिलो भेल पस्दा १२ लाखको माछा नष्ट
प्रतिकात्मक तस्वीर

कोरोनाले माछा व्यवसाय थलिएका बेला त्यहीँमाथि वर्षात्को खोलाले मार पारेको छ । 

ताराखोला गाउँपालिका–४ छम्टुस्थित रेम्बो ट्राउट माछा फार्ममा यो वर्षायाममा पटक–पटक दरमखोलाको धमिलो भेल पस्दा माछा नष्ट भएको हो ।

‘बाढीले पनि सतायो, बन्दाबन्दीका कारण दाना अभाव हुँदा उचित आहार नपाएर पनि माछा मरे,’ फार्मका सञ्चालक पदम खत्रीले भने, ‘झण्डै १२ लाख बराबरको क्षति भएको हाम्रो अनुमान छ ।’ उनका अनुसार गत चैतयता ९०० केजी जति माछा त्यसै खेर गयो । 

२ पटकसम्म पानी थुनिएर पोखरी सुक्दा पनि धेरै माछा मरेका थिए । ट्राउट माछाका लागि चिसो र सफा पानी चाहिन्छ । पोखरीमा नियमित खस्ने चिसो पानी ३० मिनेटभन्दा बढी अवरुद्ध हुनासाथ माछा मर्न थाल्छन् । बन्दाबन्दी र बाढी दुवैको असर माछापालनमा परेको सञ्चालक खत्रीले बताए ।

कोरोना संक्रमणको जोखिम शुरू भएदेखि नै माछा व्यवसायमा धक्का लाग्न शुरू भएको थियो । बन्दाबन्दीअघि उक्त ट्राउट फार्म आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको थियो । सदरमुकामलगायत बजार क्षेत्रमा सञ्चालित होटल/रेस्टुराँबाट माछाको माग आउँथ्यो । फार्मकै आडमा घरवास (होमस्टे) पनि भएकाले केही मात्रामा त्यहीँ खपत हुन्थ्यो ।

फार्ममा उत्पादित ट्राउट माछाका परिकार खुवाउन सञ्चालकहरुले रेस्टुराँ समेत चलाएका छन् । माछापालनमा खत्रीसँगै, प्रदेशसभा सदस्य दीपा रोका, ताराखोला–४ का अध्यक्ष जीतबहादुर खत्री र व्यवसायी सुवास राजभण्डारीको लगानी छ । जीतबहादुर र पदम बाबुछोरा हुन् । पदम सत्तारुढ नेकपा ताराखोलाको अध्यक्षसमेत हुन् ।

४ जना मिलेर २ वर्षअघि शुरू गरेको फार्ममा १ करोड लगानी भइसकेको सञ्चालक राजभण्डारीले बताए । फार्ममा साना–ठूला गरेर ३३ पोखरी छन् । पोखरीमा १ लाखभन्दा बढी भुरा अट्ने क्षमता छ । यसपालि बाढी र दाना अभावका कारण ८० हजार जति भुरा नष्ट भएको सञ्चालक राजभण्डारीको भनाइ छ ।

फर्ममा अहिले १० हजार जति भुरा हुर्किरहेका छन् । बिक्रीका लागि योग्य माछा १ हजार २०० किलो जति छन् । स्थिति सामान्य हुँदै गएमा व्यवसाय फेरि उठ्ने विश्वास सञ्चालकमा छ । ‘उद्योग, व्यवसायमा यस्तो चुनौती आउँछ,’ सञ्चालक राजभण्डारीले भने, ‘कहिले घाटा, कहिले नाफा भइ नै हाल्छ ।’ शुरूमा नुवाकोटबाट भुरा ल्याएर ट्राउटपालन शुरू गरिएको थियो । 

बेच्न योग्य हुँदा ३ वटा माछाको तौल १ किलोसम्म हुन्छ । जापानी प्रजातिको रेम्बो ट्राउट माछा स्वाद र स्वास्थ्य दुवैका हिसाबले उत्कृष्ट मानिन्छ । बजारमा पनि ट्राउटको माग बढी छ । प्राविधिक अध्ययनपछि छम्टुमा ट्राउनपालन शुरू गरिएको थियो । ट्राउट १२ देखि १८ डिग्रीको तापक्रममा पाल्न सकिने प्राविधिक बताउँछन् । माछापालनसँगै स्थानीय जातको कुखुरा पाल्न पनि शुरू गरिएको छ । फार्ममा ४ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्