०६ असार २०८३, शनिबार

फागुनमा कांग्रेस महाधिवेशन टर्दै

भदौ २५, २०७७
फागुनमा कांग्रेस महाधिवेशन टर्दै

कोभिड–१९ संक्रमण विस्तारसँगै कांग्रेसको क्रियाशील सदस्यता वितरण रोकिएपछि फागुनमा हुने भनिएको केन्द्रीय महाधिवेशन प्रभावित बन्ने देखिएको छ । अहिल्यै महाधिवेशन तालिका सार्ने या पछि भन्नेबारेमा पार्टीका शीर्ष नेताहरूबीच मत बाझिएको छ ।

महाधिवेशन सार्ने प्रस्ताव आफैंले गर्दा अपजसको भारी लिनुपर्ने भय सभापति शेरबहादुर देउवामा देखिएको छ । तोकिएको मितिमा महाधिवेशन नहुनेमा निश्चिन्त देखिए पनि देउवा संस्थापन इतरपक्ष तयार नभएसम्म महाधिवेशन सार्ने प्रस्ताव अघि बढाउने पक्षमा छैनन् । वरिष्ठ नेता रामचन्द्र पौडेललाई पनि फागुनमै महाधिवेशन हुँदैन भन्ने भित्रबाटै लागेको छ तर महाधिवेशन सार्ने प्रस्ताव गर्न तयार छैनन् ।

अहिल्यै महाधिवेशन सार्दा देउवा महाधिवेशन नै नगराउने दिशामा अघि बढ्ने डर उनमा देखिन्छ । त्यही डरका कारण उनले पुरानै प्रतिनिधिबाट महाधिवेशन गराउने विकल्प पछिल्लोपटक छलफलमा ल्याएका छन् ।

विधानअनुसार कांग्रेसको महाधिवेशन चार वर्षमा हुनुपर्ने हो । तर ‘विशेष परिस्थिति’ को सुविधा प्रयोग गरेर थपिएको एकवर्षे कार्यकालको पनि ६ महिना बितिसकेको छ । आगामी फागुनमा महाधिवेशन गर्न नसकिए संविधानअनुसार थप ६ महिना बढाउन सकिन्छ । त्यो सुविधा प्रयोग गर्दा ०७८ भदौभित्र महाधिवेशन गरिसक्नुपर्छ ।

भदौभित्र पनि महाधिवेशन हुन नसके संवैधानिक संकट आउँछ । महाधिवेशनको तालिका सार्दै जाँदा संवैधानिक संकट उत्पन्न गराएर देउवाले वर्तमान कार्यसमितिलाई नै निरन्तरता दिने डरका कारण पौडेलले तोकिएकै मितिमा महाधिवेशन गर्न दबाब दिइरहेका छन् ।
 

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले भने फागुनमा महाधिवेशन नहुने निश्चित भइसकेको बताए । कार्यकर्तालाई अन्योलमा राख्नुभन्दा तत्काल केन्द्रीय कार्यसमिति बैठक बोलाएर तालिका सार्नेबारे छलफल गर्नुपर्ने उनको भनाइ छ । बीपीको १०७ औं जन्मजयन्तीका अवसरमा बुधबार पार्टीका केन्द्रीय कार्यसमितिदेखि तल्लो तहका कार्यकर्ताहरू जोडिएको भर्चुअल कार्यक्रममा सिटौलाले महाधिवेशनको नयाँ तालिकाबारे छलफलका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाउन माग गरे । उनले पार्टीको समायोजन र क्रियाशील सदस्यता वितरणको तालिका प्रभावित भइसकेकाले केन्द्रीय महाधिवेशन समयमै हुन नसक्ने तर्क गरे । ‘

यसबारेमा पार्टीभित्र गम्भीर छलफलका लागि केन्द्रीय बैठक बोलाउन आवश्यक छ,’ उनले भने, ‘सभापतिजीले तत्काल बैठक बोलाउनुहोस् ।’

बैठक बोलाउने/नबोलाउनेबारे सभापति देउवाले भने कार्यक्रममा केही बोलेनन् । उपसभापति विमलेन्द्र निधिका अनुसार वरिष्ठ नेता पौडेलसँग छलफल गरेर बैठकको मिति तय गर्न देउवाले उनलाई केही दिनअघि नै आग्रह गरिसकेका छन् । ‘कोरोनाको यस्तो अवस्था छ, केही दिन हेरौं भनेकै कारण बैठक रोकिएको हो,’ निधिले भने, ‘सभापतिजीले बोलाउन चाहनुभएकै हो । पौडेलजीकै केही समय पर्खन आग्रह गरेकाले नबोलाइएको हो ।’

भर्चुअल कार्यक्रममा देउवाले कोरोनाबाहेक अरू कारणले महाधिवेशन सर्ने अवस्था नआएको बताए । संविधानअनुसार थप ६ महिनाभित्र महाधिवेशन गराउनुपर्ने बाध्यात्मक परिस्थितिबारे आफू पूर्ण जानकार रहेको जनाउँदै देउवाले तोकिएकै मितिमा महाधिवेशन गर्न नसकिने भए छलफल गर्न आफू तयार रहेको बताए । ‘संविधानले दिएको समयभन्दा उता जान सकिन्न भन्ने मलाई थाहा छ, कसैले भन्नै पर्दैन,’ उनले भने, ‘फागुनमा गर्न सकिन्न भने कहिले गर्ने, सबै साथहरूबीच छलफल गरौं ।’

पौडेलले भने तोकिएको मितिमा महाधिवेशन गर्नुपर्नेमा जोड दिए । तीन वर्षदेखि समयबद्ध कार्यक्रमका साथ अघि बढ्ने प्रस्ताव आफूले गर्दा महाधिवेशन गर्ने अहिल्यै हतारो भएको भनेर कतिपय साथीभाइले व्यंग्य गरेको स्मरण गर्दै पौडेलले बेलैमा काम नगर्दा अहिले रुवाबासी चलेको बताए । ‘समायोजनको काम सकिएको छैन, क्रियाशील सदस्यता सबै ठाउँमा पठाइएका छैनन् । समायोजन सकिएका कतिपय जिल्लामा पनि सदस्यता दिन रोकिएको छ ।

अर्कोतिर समयमै महाधिवेशन गर्न नसके संकट आउने अवस्था छ,’ उनले भने, ‘समयबद्ध काम गरेको भए गत फागुनमै महाधिवेशन सम्पन्न भइसक्थ्यो । नभए पनि क्रियाशील सदस्यताको सबै काम सकिन्थ्यो । त्यसपछि जहिले गर्दा पनि हुन्थ्यो ।’ सहज हुँदा काम नगर्ने र वातावरण असाधारण बन्दै गएपछि पार्टीलाई कतातिर लैजाने हो भन्ने चिन्ता लागेको उनले बताए ।

कांग्रेस केन्द्रीय कार्यसमितिको असार २२ गतेको बैठकले केन्द्रीय महाधिवेशन फागुनमै गर्ने गरी तल्ला तहका अधिवेशन सारेको थियो । जसअनुसार वडा, गाउँ/नगरपालिका, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशको अधिवेशन पुस ६ बाट सुरु गरी माघ ६ गतेसम्म सम्पन्न गर्ने कार्यतालिका थियो । समायोजन र क्रियाशील सदस्यता वितरण र नवीकरणको सुरुवाती काममै अवरोध उत्पन्न भएपछि केन्द्रदेखि तल्ला तहका सबै अधिवेशनको तालिका प्रभावित हुने भएको हो ।

पछिल्लो निर्णयअनुसार साउन १० भित्र समायोजनको काम सक्ने समय तोकिएको थियो । तर, अझै ११ जिल्लाको समायोजन हुन सकेको छैन । समायोजन नसकिँदा क्रियाशील सदस्यता वितरण र नवीकरणको काम अघि बढ्दैन । क्रियाशील सदस्यता वितरण, नवीकरण साउन मसान्तभित्र सक्ने र भदौ मसान्तभित्र सदस्यताको सूची केन्द्रमा पठाउने तालिका थियो । क्रियाशील सदस्यताको वितरण र नवीकरणको काम यतिबेला ठप्प छ । कान्तिपुर दैनिकमा कुलचन्द्र न्यौपानेले खबर लेखेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्