
संघीय आयोजना कार्यान्वयन इकाई, बिराटनगरका तत्कालीन सिनियर डिभिजनल ईन्जिनियर (सि.डि.ई.) काशी प्रसाद गुप्ताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १६ करोड ७२ लाख बिगो दावीसहित विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गराएको छ ।
इन्जिनियर गुप्ताले सार्वजनिक पदमा वहाल रहँदा पदको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा उनकी श्रीमती मीता गुप्तासहित १३ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।
तत्कालीन सि.डि.ई. काशी प्रसाद गुप्ताले सार्वजनिक पद धारण गरेको मितिदेखि अनुसन्धान गर्न कायम गरिएको मिति २०७७- पुस २९ गतेसम्मको वैध आय रू.१ करोड ११ लाख आर्जन गरेको र सोही अवधिमा गुप्ताले रू.१७ करोड ८४ लाख खर्च तथा लगानी गरेको पुष्टि भएको अख्तियारले जनाएको छ ।
उसको वैधानिक आयबाट खर्च तथा लगानी घटाउँदा बाँकी रहन आउने रू.१६ करोड ७२ लाखको खर्च तथा लगानीको स्रोत खुल्न नआएको अख्तियारले उल्लेख गरेको छ ।
अख्तियारले भनेको छ , खर्च तथा लगानी निजको पद र हैसियत अमिल्दो र अस्वभाविक देखिई उच्च जीवनयापन समेत गरेको देखिएकोले आरोपी काशी प्रसाद गुप्ताको सो कार्य साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिम गैरकानूनी सम्पत्ति आर्जन सम्बन्धी भ्रष्टाचारजन्य कसुर भए गरेको देखिँदा निज राष्ट्रसेवक कर्मचारी काशी प्रसाद गुप्तालाई सजाय हुन माग दावी लिइएको र निज काशी प्रसाद गुप्ताको एकासगोलकी पत्नी मिता गुप्ताले आफ्नो पति काशी प्रसाद गुप्ताले पदीय हैसियतको दुरूपयोग गरी गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको जान्दाजान्दै त्यस्तो सम्पत्ति लुकाउने छिपाउने तथा दुरूपयोग गर्ने एवं भोग चलन गर्ने उद्देश्यले आफ्नो तथा आफन्तको नाममा कारोबार गरी आरोपी काशी प्रसाद गुप्तालाई गैरकानूनी सम्पत्ति आर्जन गर्ने तथा त्यस्तो सम्पत्तिलाई अवैध रूपमा लुकाउन छिपाउन सहयोग, दुरूत्साहन गर्ने समेत कार्यमा प्रत्यक्ष संलग्न रही साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) को कसुरको मतियार हुने भ्रष्टाचारजन्य कसुर गरेको देखिँदा निज आरोपी मिता गुप्तालाई साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) को कसुरको मतियारको कसुरमा बिगो रू.१६,७२,५६,४९६।८६ कायम गरी सजाय हुन मागदावी लिई १३ जना उपर विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
अख्तियारले गुप्ताले आफन्तहरु अन्जु कुमारी महतो, उदित नारायण प्रसाद रौनियार, चन्देश्वर महतो, धिरज कुमार गुप्ता, प्रिति कुमारी गुप्ता, डा. रचना प्रसाद शाहा, विकास प्रसाद गुप्ता, विनय कुमार सिंह, विभा रानी, संगिता साह रौनियार र सन्तोष कुमार गुप्ताको नाममा खाता खोली रू.१० करोड ४४ लाख भन्दा बढी रकम लुकाई छिपाई राखेको पाइएको जनाएको छ ।