
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई कमजोर बनाएर तोडफोड गर्ने देशीविदेशी प्रतिक्रियावादी शक्तिको प्रयास असफल भएको बताएका छन् ।
स्थायी कमिटी बैठकले पार्टीभित्रको समस्या र अन्तरविरोधलाई समाधान दिएको ओलीले बताए ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको स्थायी कमिटी बैठकलाई शुरूमै सम्बोधन गर्दै ओलीले बैठकले नयाँ उचाइको एकता प्रदान गरेको बताएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
‘प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले बैठकको प्रारम्भमा सम्बोधन गर्दै यो बैठकले पार्टीभित्रको समस्या र अन्तरविरोधलाई समाधान दिएको छ, नयाँ उचाइको एकता र संकल्पसहित सकारात्मक ढंगले निकाश निकाल्ने विश्वास छ भन्नुभयो,’ बैठकपछि प्रवक्ता श्रेष्ठले भने, ‘देशीविदेशी प्रतिक्रियावादी शक्तिले पार्टीलाई कमजोर बनाउन र तोडफोड गर्न जो चाहाना राखेका थिए, त्यो असफल बनाउन बैठक सफल भएको छ । बैठक सम्पन्न हुनु नै सटिक जवाफ हो ।’
बैठक चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय गर्दै समापन भएको छ ।
बैठकले कात्तिक १५ देखि १७ गतेसम्म केन्द्रीय कमिटीको बैठक बोलाउने तथा एमसीसी परिमार्जनसहित पारित गर्ने निर्णय पनि गरेको छ ।