
बासस्थान र आहार प्रजातिको अत्यधिक दोहनका कारण करिब ५० वर्षमा विश्वभर चरा, माछा, स्तनधारी, उभयचर र सरिसृप (घस्रिने) लगायत जीवजन्तुको संख्यामा ६८ प्रतिशतले गिरावट आएको छ ।
संयुक्त राष्ट्रसंघको ७५ औं महासभाको पूर्वसन्ध्यामा बिहीबार डब्लूडब्लूएफले सार्वजनिक गरेको ‘लिभिङ प्लानेट रिपोर्ट’ मा अत्यधिक मात्रामा माछा मारिँदा, जंगलमा डढेलो लाग्दा र मानवीय क्रियाकलापले जीवजन्तुको आश्रयस्थल विनाश भई दुई तिहाइ जीवको संख्या घटेको उल्लेख छ । राष्ट्रसंघको आगामी महासभाअन्तर्गत ३० सेप्टेम्बरमा जैविक विविधतासम्बन्धी छुट्टै सम्मेलन हुँदै छ ।
जुलोजिकल सोसाइटी अफ लन्डन (जेडएसएल) सँगको सहकार्यमा डब्लूडब्लूएफले प्रत्येक दुई वर्षमा उक्त प्रतिवेदन सार्वजनिक गर्दै आएको छ । उक्त प्रतिवेदन ‘लिभिङ प्लानेट इन्डेक्स’ र ‘इकोलोजिकल फुटप्रिन्ट’ का आधारमा निकाल्ने गरिन्छ ।
प्रतिवेदनमा सन् १९७० देखि २०१६ सम्म विश्वभरबाट वन्यजन्तुको संख्या ६८ प्रतिशतले घटेको उल्लेख छ । यो प्रतिवेदन ४ हजार ३ सय ९२ प्रजाति र २० हजार ८ सय ११ वटा जीवहरूको तथ्यांकलाई आधार मानेर प्रकाशित गरिएको हो ।
अध्ययनका क्रममा ४ हजार प्रजाति ढाड भएका जीवहरू मात्रै थिए भने स्वच्छ पानीमा पाइने जीवहरूको संख्या ८४ प्रतिशतले घटेको पाइएको प्रतिवेदनमा उल्लेख छ । अस्ट्रेलियामा मात्रै केही प्रजातिहरूको संख्या ९७ प्रतिशतसम्मले घटेको छ । अस्ट्रेलियामा १ हजार १ सय प्रजाति बर्सेनि घट्दै गइरहेकोमा ‘ब्राम्बल के मेलोमी’ नामक मुसा प्रजातिको जीव जलवायु परिवर्तनको असरबाट लोप भएको प्रतिवेदनको निष्कर्ष छ ।
वन फँडानी, वन्यजन्तुको अवैध व्यापार, जैविक विविधतामा ह्रासलगायत कारणले कोभिड–१९ जस्ता ‘जुनोटिक’ रोगहरूको उदय हुन थालेको समेत प्रतिवेदनमा जनाइएको छ ।
प्राकृतिक स्रोतमाथि मानवीय अतिक्रमण बढ्दै जाँदा वैज्ञानिकहरूले नयाँ भौगर्भिर्क समय सुरु भएको जनाउ दिएका छन् । यसलाई ‘एन्थ्रोपोसिन’ भनिएको छ । विगत सय वर्षदेखि पृथ्वीको पारिस्थितिकीय प्रणाली परिवर्तनमा मानवको प्रमुख भूमिका भएको निष्कर्ष निकाल्दै वैज्ञानिकहरूले पृथ्वीको यो समयलाई एन्थ्रोपोसिन नाम दिएका हुन् ।
१३ औं संस्करणको यो प्रतिवेदनले कोभिड–१९ पछि पृथ्वीलाई पहिलेको भन्दा राम्रो, स्वस्थ बनाउने तथा दिगो विकासलगायत क्षेत्रमा काम गर्नुपर्ने औंल्याइएको छ । अहिले भइरहेको विनाशको पूर्ति गर्नका लागि सन् २०३० सम्म प्राकृतिक बासस्थानलाई पुनरुत्थान गरिसक्नुपर्नेमा जोड दिइएको छ ।
डब्लूडब्लूएफका कार्यकारी निर्देशक मार्को लम्बर्टिनीका अनुसार मानवीय क्रियाकलापले वन्यजन्तुलाई मात्रै असर नगरेर स्वयं मानिस र उसको दैनिक जीवनलाई असर परिरहेको बारेमा प्रतिवेदनमा उल्लेख छ । ‘हामी तथ्यलाई कहिल्यै नकार्न सक्दैनौं तर प्रतिवेदनमा उल्लेख भएका कुराहरू सूचक हुन्,’ उनले भनेका छन्, ‘समुद्रका माछादेखि कृषिबालीमा योगदान पुर्याउने मौरी, भमराजस्ता जीवजन्तुको संख्या घट्दा कृषि उत्पादन मात्रै घट्दैन, यसले पौष्टिक आहारामा समेत असर गर्छ, खाद्य सुरक्षा र पृथ्वीका अर्बौं मानिसको दैनिकीमा पनि असर पर्ने निश्चित छ ।’
उनले कोरोना महामारीका कारण सिर्जित परिस्थितिमा विश्वका सबै मुलुकहरू प्रकृतिमाथिको दोहनको विरुद्धमा एकजुट हुनुपर्ने समय आएको बताएका छन् । ‘मानव जातिको भविष्य, स्वास्थ्य र जीवनको रक्षाका लागि एकजुट हुनुको विकल्प छैन,’ उनले भनेका छन् ।
कुन–कुन जीवको संख्या घट्यो ?
विश्वका १ सय २५ जना विज्ञहरूले तयार पारेको प्रतिवेदनमा कंगोको खहुजी–बेइगा निकुञ्जमा संरक्षित गोरिलाहरूको संख्या सन् १९९४ देखि २०१५ को बीचमा ८७ प्रतिशतले घटेको उल्लेख छ । यसको मुख्य कारण चोरी सिकारी नै भएको औंल्याइएको छ । घानामा पाइने ‘अफ्रिकन ग्रे प्यारोट’ प्रजातिको चराको संख्या ९९ प्रतिशतले घटेको छ । सन् १९९२ देखि २०१४ सम्म अवैध व्यापार र बासस्थानको विनाशले उक्त चराको संख्यामा भारी मात्रामा गिरावट आएको प्रतिवेदनमा उल्लेख छ ।
सन् १९८२ देखि २०१५ सम्ममा चीनको याङ्जे नदीमा पाइने ‘चाइनिज स्टग्योन’ नामक माछा प्रजाति ९७ प्रतिशतले घटेको छ । यसको कारण नदीमा निर्मित बाँधहरूलाई औंल्याइएको छ । बढ्दो वन्यजन्तुको बासस्थान विनाशलाई रोकेर बासस्थान सुधार कार्यक्रम नल्याइने हो भने विश्वको जैविक विविधतामा अझै ह्रास आउने देखिएको प्रतिवेदनमा उल्लेख छ । उक्त सम्मेलनमा विश्वभरका नेता, व्यापारी, सामाजिक अगुवाहरूलाई यसबारे जानकारी गराउँदै दिगो विकासमा सघाउ पुर्याउन भनिने डब्लूडब्लूएफले जनाएको छ । कान्तिपुर दैनिकमा अब्दुल्लाह मियाँ र गोविन्द पोखरेलले खबर लेखेका छन् ।