२२ असार २०८३, सोमबार

वाग्मती किनारमा गुर्जो रोप्ने अभियान

वाग्मती किनारमा गुर्जो रोप्ने अभियान

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न रोग प्रतिरोधी क्षमता विकास गर्ने बहुपयोगी आयुर्वेदिक वनस्पति गुर्जो रोप्ने क्रम बढ्न थालेको छ ।

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको कार्यालय रहेको गुह्येश्वरी परिसरमा आज १५० गुर्जोको बिरुवा रोपिएको छ । गुर्जो रोपण कार्यक्रममा सांसद कृष्ण राई, पूर्व मुख्यसचिव एवं लीलामणि पौडेललगायत वाग्मती सफाइ अभियानकर्मी पनि सहभागी भएका थिए।

आन्तरिक राजश्व कार्यालय लहानका प्रमुख कर अधिकृत कमलबहादुर राजलवटले सरकारी निवास परिसरमा गुर्जोको बिरुवा उत्पादन गरी देशव्यापी रुपमा वितरण शुरु गरेका छन्। अधिकार सम्पन्न वाग्मतीको कार्यालयमा पनि उहाँले बिरुवा उपलब्ध गराउनुभएको सञ्चालक सदस्य माला खरेलले राससलाई जानकारी दिए । 

राजलवटले नै उपलब्ध गराउनुभएको एक हजार गुर्जोको बिरुवा वाग्मतीको गोठाटारमा पुलमा आज बिहान वितरण गरिएको छ । वाग्मती सुन्दरता सरोकार मञ्च र मानव अधिकार तथा शान्ति समाजले नदी किनारका बस्तीमा रोप्न एक हजार बिरुवा वितरण गरेको अध्यक्ष उत्तम पुडासैनीले बताए । 

सुन्दरीजलबाट बानेश्वरसम्मको नदी किनारका बस्तीमा गुर्जो वितरण गर्ने अभियानमा मञ्च लागेको पनि उनले जानकारी दिए । घरघरमा गुर्जोको बिरुवा पु¥याउने अभियानमा लाग्नुभएका राजलवट आफूले ११ वर्षदेखि नियमित रुपमा सेवन गर्दा फाइदा पुगेकाले प्रचारप्रसारमा लागेको बताउँछन् । गुर्जोका नियमित सेवनपछि आफूले निरोगी अनुभव गरेको उनले जानकारी दिए । 

मधुमेह रोगबाट पीडित भएकाले नियमित रुपमा गुर्जोको सेवन गरेमा अन्य औषधि खानु नपर्ने आफैँले अनुभव गरेपछि सामूहिक रुपमा बिरुवा वितरण अभियानमा लागेको पुडासैनी बताउँछन् । गुर्जोले मानव शरीरमा रोग प्रतिरोधी क्षमताको विकास, शारीरिक क्षमतामा बढोत्तरी गर्नाका साथै शरीरभित्र जमेका विकारलाई बाहिर निकाली मानिसलाई स्वस्थ बनाउँछ । विश्वव्यापी रुपमा कोरोना भाइरस फैलिएका बेला शरीरभित्र रोग प्रतिरोधी क्षमता बढाउन यसको नियमित सेवन उपयोगी भएको अनुभव प्रयोगकर्ताको छ ।

रुघा, खोकी, ज्वरो, रगतको कमी, आँखा, कान, छाला पाइल्स जस्ता रोग निको गर्न पनि गुर्जो उपयोगी प्रमाणित भएको अभियानकर्मी राजलवट बताउँछन् । गर्भवतीले भने गुर्जोका प्रयोग गर्नु हुँदैन भने पाँच वर्षमुनिका बालबालिकालाई पनि सेवन नगराउनु राम्रो हुन्छ । डाँठ र पात दुवै प्रयोग गर्न सकिने गुर्जो सुकाएर वा काँडा पानी बनाएर दुवै रुपमा उपयोग गर्न सकिन्छ ।

आयुर्वेद शास्त्रले भनेको ‘यस्य देशस्य यो जन्तो ः तस्य तद् औषधं हितम्’ अर्थात् जुन स्थानमा मानिस रहन्छ, त्यसलाई त्यहीँ उम्रने वनस्पतिले औषधिको काम गर्छ भनेझैँ गुर्जोले नेपालीको स्वास्थ्य रक्षामा काम गर्ने अनुभव प्रयोगकर्ता गरेका छन् । हालसम्म राजलवटले देशभर ६० हजार गुर्जोका बिरुवा वितरण गर्नुभएको छ । राजधानीका विभिन्न नगरपालिकामा समेत गुर्जो वितरण गरिएको उनले जानकारी दिए । नगरपालिकामार्फत राजधानीवासीका घरघरमा गुर्जो रोपण अभियान विस्तार गरिने जनाइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्