०३ असार २०८३, बुधबार

चैतभित्रै शैक्षिक सत्र समापन गरिने

भदौ ३१, २०७७
चैतभित्रै शैक्षिक सत्र समापन गरिने
प्रतिकात्मक तस्वीर

सरकारले संकटका बेलामा समेत विद्यार्थीको न्यूनतम सिकाइ सुनिश्चित गरी आगामी चैत महिनाभित्र चालू शैक्षिक सत्र समापन गरिने जनाएको छ ।

आगामी ७ महिनाभित्र विद्यार्थीले सिक्नुपर्ने न्यूूनतम कुरा सुुनिश्चित गरेर शैक्षिक सत्र समापन गर्ने र त्यसका आधारमा विद्यार्थीलाई कक्षोन्नति गर्ने योजना कार्यान्वयन गर्न सरकार अगाडि बढिरहेको छ

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले मंगलवार आयोजित भर्चुुअल पत्रकार सम्मेलनमा विद्यालय नखुले पनि विद्यार्थीको सिकाइ अवरुद्ध नहुने बताए । उनले अहिलेको शैक्षिक सत्र चैत महिनामा पूरा गर्नेगरी सरकार अगाडि बढेको जानकारी दिए ।

कक्षा कोठाको पठनपाठन अवरुद्ध भए पनि वैकल्पिक विधिलाई नै अबको मूलधारको शिक्षा मान्ने घोषणा सरकारले गरिसकेको छ ।

मन्त्री पोखरेलले पाठ्यवस्तु समायोजन ढाँचा–२०७७ स्वीकृत गरिएको जानकारी दिए । ७ महिनाको अवधिमा विद्यार्थीले सिक्नुपर्ने न्यूूनतम कुरा सुनिश्चित गरी पाठ्यवस्तु समायोजन ढाँचा स्वीकृत गरिएको हो । स्वीकृत ढाँचा अब छिट्टै विद्यालय तथा शिक्षक समक्ष पुर्‍याइने जनाइएको छ ।

शैक्षिक सत्रको समय घटेको अवस्थामा छोटो समयमा कसरी विद्यार्थीको न्यूूनतम सिकाइ सुनिश्चित गर्ने भन्ने मुख्य उद्देश्यले नै पाठ्यवस्तु समायोजन ढाँचा तयार पारिएको हो ।

कोरोना भाइरसको संक्रमण कायमै रहेको अवस्थामा बालबालिकाको सिकाइ निरन्तर जारी राख्ने र शैक्षिक सत्र क्षति हुन नदिने प्रतिबद्धता मन्त्री पोखरेलले जनाए । वैकल्पिक विधिबाट गरिने पठनपाठन संकटको बेलामा मूलधारको सिकाइ मानिएको मन्त्री पोखरेलले स्पष्ट गरे । वैकल्पिक शिक्षामा विद्यार्थीको मूल्यांकन गर्दा शिक्षकको जिम्मेवारी महत्त्वपूर्ण हुने उनले औंल्याए ।

विद्यार्थीको कक्षा स्तरोन्नति गर्न लिखित, मौखिक, परियोजना कार्य लगायतबाट गर्न सकिने आधार तयार पारिएको छ । अब शिक्षकले समायोजित पाठ्यवस्तुको ढाँचाका आधारमा विद्यार्थीको पठनपाठन अगाडि बढाउने जानकारी दिइएको छ । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले पाठ्यक्रमको कार्यान्वयन विद्यालयमा शिक्षकले स्थानीय परिवेशका आधारमा गर्ने जानकारी दिए । विद्यालय तहमा स्थानीय विज्ञ, प्रधानाध्यापक र विषय शिक्षक रहेको समितिले यसलाई कार्यान्वयनमा ल्याउने उनको भनाइ छ ।

कक्षागत रूपमा अलग–अलग पाठ्यक्रम समायोजन गरिएको छ । पाठ्यक्रमलाई कुनै निश्चित प्रतिशतका आधारमा संकुचनभन्दा पनि कति पढाउने र विद्यार्थीलाई कक्षा चढाउने भन्ने निर्णय स्थानीय स्तरमै हुने उनले बताए ।

यसैबीच सरकारले कक्षा–११ मा नयाँ पाठ्यक्रम नै लागू हुने भन्दै सोही अनुसारको तयारीमा जुट्न मातहतका कार्यालयलाई निर्देशन गरेको छ । मन्त्री पोखरेलले यस वर्षबाट कक्षा–११ मा नयाँ पाठ्यक्रम लागू गरिने स्पष्ट गर्दै यसमा कोही भ्रममा नपर्न आग्रह गरे ।

विद्यार्थीको सिकाइ प्रभावकारी र उपलब्धिमूूलक बनाउन शिक्षक र अभिभावकको भूूमिका महत्त्वपूर्ण हुन्छ । विद्यार्थी कक्षा कोठामा आउन नसकेको अहिलेको अवस्थामा घरपरिवार र शिक्षकको सहयोग बिना विद्यार्थीको न्यूूनतम सिकाइ स्तर हासिल गर्न चुनौती हुने सम्बन्धित सरोकारवालाले बताएका छन् ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले मंगलबार आयोजना गरेको भर्चुअल छलफलमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा. तुलसी थपलियाले शिक्षक परिचालन र अभिभावक क्रियाशील हुँदा मात्र विद्यार्थीको सिकाइ सुनिश्चित हुने बताए ।

सरकारले जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ ले शिक्षक, अभिभावक व्यवस्थापन समितिको भूमिकालाई समेत स्पष्ट गरेकाले सबैको क्रियाशील भूमिकाको अपेक्षा गरिएको उनले स्पष्ट पारे ।

यसैगरी उनले वैकल्पिक विधिमा विद्यार्थीलाई रेडियो, टेलिभिजन, अनलाइन वा अन्य माध्यममा जुन अनुकूल हुन्छ सोही माध्यममा सहभागी गराएर अगाडि बढाउनुपर्छ र सबैखाले विद्यार्थीको सिकाइ सुनिश्चित गरिने बताए ।

कार्यक्रममा शिक्षा विश्लेषक टीका भट्टराईले अभिभावक र शिक्षकको जिम्मेवारी थपिएको बताए । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्