शांघाई कोअपरेसन अर्गनाइजेसनका सदस्य मुलुकहरूका राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको भर्चुअल बैठकमा पाकिस्तानले नयाँ तथा विवादित नक्सा सार्वजनिक गरेपछि भारतले रिसाउँदै बैठक बहिष्कार गरेको खबर भारतीय सञ्चारमाध्यमहरूमा आएका छन् ।
मंगलवारको उक्त बैठकमा भारतको प्रतिनिधित्व अजित डोभालले गरेका थिए र उनले पाकिस्तानको ‘अवैध’ नक्सामा कडा आपत्ति जनाएको बताइएको छ ।
रुसले पाकिस्तानलाई उक्त नक्सा नदेखाउनका लागि निकै फकाएको अनि यस कार्यले भारतलाई एससीओमा सहभागी हुनबाट नरोक्ने आशा लिएको बताइएको छ ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अघिल्लो महिना नयाँ नक्सा जारी गरेर जम्मु कश्मीर पूरैलाई पाकिस्तानको नक्सामा देखाएका थिए । यही नक्सालाई पाकिस्तानी अधिकारीहरूले पृष्ठभूमिमा राखेका थिए ।
रुसीहरूले एससीओ बैठकमा दुई देशका द्विपक्षीय विवादका कुरा उठाउन नपाउने भनी संगठनको बडापत्रमा लेखिएको कुरा परराष्ट्रमन्त्रीहरूको बैठकमा स्मरण गराएका थिए । यो मञ्च पारस्परिक विश्वास निर्माणका लागि बनेको उनीहरूको भनाइ छ ।
भारतले यसै वर्ष एससीओ मुलुकहरूका प्रधानमन्त्रीको बैठक आयोजना गर्न लागेको छ । पाकिस्तानका प्रधानमन्त्रीलाई स्थापित अभ्यास र प्रक्रियाअनुसार एससीओ बैठकमा निम्तो दिने भारतले बताएको छ ।
रुसले एससीओ उपयोग गरेर भारत तथा पाकिस्तानले साझा आधारभूमि खोजून् भनी चाहेको भए पनि भारतले आतंकवादप्रति शून्य सहनशीलता र कश्मीरमा पाकिस्तानको चासो नरहनु दुवैलाई न्यूनतम विन्दु मानेको छ ।