
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले रुस र चीनसँग मात्र कोभिड–१९ का खोपहरू किन्ने बताएका छन् ।
पश्चिमका ठूला औषधि कम्पनीहरूले मनिलासँग खोपका लागि मोलमोलाइ गर्न खोजेमा उनीहरूलाई लात हान्ने डुटेर्टेको भनाइ छ ।
मंगलवार बयान दिने क्रममा उनले खोप बेच्नका लागि हतार गरिरहेका पश्चिमी कम्पनीहरूलाई नाफाबाहेक अरू केही सोच्नै नआउने बताए ।
‘उनीहरू अनुसन्धान तथा खोपलाई उम्दा बनाउने काममा लगानी गरिदिए हुन्थ्यो भन्छन् । अनि खोप दिनुअघि उनीहरू नगदमै एड्भान्स चाहन्छन्,’ डुटेर्टेले भने ।
‘अहिलेसम्म खोप बनिसकेको छैन भन्नुहुन्छ भने कुनै कुरा टुंगोमा पुगेको छैन । अनि हामीले पैसा जम्मा गरेर खोप आफ्ना लागि रोकिराख्नुपर्ने रे, पागल हौं र ?’ डुटेर्टेले भने ।
त्यसैले पश्चिमी औषधि कम्पनीहरूले मनिलासँग यस विषयमा कुनै सम्झौता गर्न आउन नहुने अन्यथा तिनीहरूलाई लात हान्ने डुटेर्टेको भनाइ छ । केही चिनियाँ कम्पनीहरूले पनि रिजर्भेसन फी मागिरहेको राष्ट्रपतिले थपे तर कुनै कम्पनीको नाम लिएनन् ।
यसअघि फिलिपिन्सले रुससँग संसारको पहिलो कोभिड खोप स्पुतनिक भीको परीक्षण सम्झौता गरिसकेको छ । देशमा खोपको पहिलो परीक्षण आफूबाटै गराउने उनको भनाइ छ ।