
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोनाबाट संक्रमित हुनेको संख्या १५ सय ३९ रहेको जनाएको छ ।
बुधवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १० हजार ४ सय ९४ नमूनाको पीसीआर परीक्षण गरिएको र त्यसमध्ये १५ सय ३९ मा संक्रमण देखिएको बताएका हुन् ।
यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ४२ पुगेको छ । संस्थागत आइसोलेसनमा बस्नेको संख्या ८ हजार ५ सय ४१ छन् भने बाँकी होम आइसोलेसनमा बसिरहेका छन् ।
पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या १ हजार ६८ छ भने हालसम्म ४१ हजार ७०० जना संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन् ।
डा. गौतमले डिस्चार्ज हुनेको प्रतिशत संख्या ७१ दशमलव ५ रहेको बताए ।