
अबको परिवर्तनको हतियार, युवा आवाज भन्ने मूल नाराका साथ ‘पावर योर भ्वाइस’ आवाजको खुल्ला मञ्च भनिने राष्ट्रियस्तरको सामाजिक सञ्जालमुखी रियालिटि सो आयोजना हुने भएको छ ।
‘कमन ग्राउन्ड फर युथ आन्टरप्रेनरसिप’ नेपालले आयोजना गर्न लागेको सो कार्यक्रमा युनिभर्सल थर्ट कन्सल्ट र लिडयुथ सहयोगी संस्थाको भूमिकामा रहेका छन् ।
कार्यक्रमको मुख्य उदेश्य नेपालभर रहेका युवाहरूलाइ एउटै छातामुनि ल्याएर बौद्धिक सोचहरूबीच तर्क-वितर्क गराइ सामाजिक रूपान्तरणका लागि युवा सशक्तिकरण गर्नु रहेको कमन ग्राउन्ड फर युथ आन्टरप्रेनरसिप नेपालका अध्यक्ष राजेस पुडासैनीले जानकारी दिए ।
सामाजिक अभियान्ता पुडासैनीले सो कार्यक्रमले नेपालभर रहेका युवा आवाजलाई समेट्दै परिवर्तनको नयाँ आयाम थप्नका निमित्त युवाहरूलाइ रचनात्मक कार्यक्रम, तथा सामजिक क्रियाकलापहरूमा अगाडि बढाउने प्रतिबद्धता गरेका छन् ।
कार्यक्रमको पहिलो चरण, ‘मेरो अभिव्यक्ति’ राउण्ड असोज ७ गतेबाट हुने भएको छ । कार्यक्रममा मेरो अभिव्यक्ति, तर्कवितर्क , शब्दको कुरूक्षेत्र जस्ता राउण्डहरूबाट अन्तिम ४ प्रतिस्पर्धी छनोट गरी ग्रयाण्ड फिनाले भव्यताका साथ सम्पन्न हुनेछ । कार्यक्रम अवधिभर सामाजिक, शैक्षिक ,कलाकारिता तथा राजनीतिक क्षेत्रमा लागेका विभिन्न तह तप्कामा रहेका चीरपरिचित व्यक्तिहरूलाई बोलाइने जनाइएको छ ।