११ साउन २०८३, सोमबार

भारतलाई १० करोड डोज कोभिड–१९ को खोप दिने रुसको घोषणा

भदौ ३१, २०७७
भारतलाई १० करोड डोज कोभिड–१९ को खोप दिने रुसको घोषणा
फाइल फोटो

 रुसमा कोरोना भाइरसविरुद्धको खोप निर्माता रसियाली प्रत्यक्ष लगानी कोष  (आरडिआइएफ) ले भारतको डा रेड्डी लेबोरेटोरीजलाई १० करोड डोज खोप उपलब्ध गराउने घोषणा गरेको छ। कोषले रुसमा स्पुतनिक भी नामको खोप विकास गरेको छ। 

कोषद्वारा बुधबार प्रकाशित विज्ञप्तिमा भारतमा स्पुतनिक भी खोपको क्लिनिकल परीक्षण र खोप वितरणका लागि कोष र विश्वविख्यात औषधि उत्पादक कम्पनी डा रेड्डीबीच सम्झौता भएको उल्लेख छ।
कोषले भारतीय नियामक निकायबाट अनुमति पाएलगत्तै स्पुतनिक खोपको आपूर्ति गरिने बताएको छ। 

डा रेड्डीका सहअध्यक्ष एवं व्यवस्थापन निर्देशक जीभी प्रसादले रसियाली खोपका सन्दर्भमा सहकार्य गर्न पाएकामा खुशी लागेको बताए। उनले भारतीय नियामक निकायका आवश्यकतालाई दृष्टि गरी तेस्रो चरणको परीक्षण गरिने बताउँदै भारतमा कोभिड–१९ विरुद्ध लड्न स्पुतनिक भी खोप विश्वासिलो विकल्प हुने विश्वास व्यक्त गरे।

रसियाली कोषका प्रमुख कार्यकारी किरिल डिमिट्रिभले भारतीय औषधि उत्पादक कम्पनीसँग सहकार्य गर्न पाएकामा खुशी लागेको बताए। डा रेड्डीले विगत २५ वर्षदेखि रुसमा औषधि उत्पादनका कार्यमा निकै प्रतिष्ठा कमाएको कम्पनी रहेको बताउँदै किरिलले यो भारतमै पनि अग्रणी औषधि निर्माता कम्पनी रहेको जानकारी दिए।

कोरोनाभाइरसका कारण भारत अहिले निकै असर परेको मुलुकका रुपमा देखिएको छ। भारतमा कोरोना संक्रमितको संख्या ५० लाख नाघिसकेको छ। 

रुसको स्वास्थ्य मन्त्रालयले गत असष्ट ११ मा स्पुतनिक भी लाई औपचारिक रुपमा मान्यता दिएको छ। -रासस/एएनआई 

salt training

कमेन्ट गर्नुहोस्