२९ असार २०८३, सोमबार

शपथपछि वामदेवले भने– ‘राष्ट्रिय सभामा रहेर समाजवाद स्थापना गर्ने नेकपाको संकल्प पूरा गर्छु’

असोज १, २०७७
शपथपछि वामदेवले भने– ‘राष्ट्रिय सभामा रहेर समाजवाद स्थापना गर्ने नेकपाको संकल्प पूरा गर्छु’

नेकपा उपाध्यक्ष एवं राष्ट्रिय सभाका नव नियुक्त सदस्य वामदेव गौतमले नेपालमा समाजवाद स्थापना गर्ने नेकपाको संकल्प पूरा गर्न राष्ट्रिय सभामा भूमिका खेल्ने बताएका छन् ।

राष्ट्रिय सभाको गरिमा बढाउनका लागि निर्वाह गर्नुपर्ने कर्तव्य पूरा गर्ने उनले बताए । 

संसद् सचिवालयमा बिहीवार राष्ट्रिय सभा सदस्यको शपथ लिएपछि संक्षिप्त सम्बोधन गर्दै गौतमले मुलुकको पक्षमा काम गर्ने बताएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीवार दिउँसो नै गौतमलाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गरेकी थिइन् ।

‘राष्ट्रिय सभाको गरिमा बढाउनका लागि संविधान र नियमावली अनुसार मैले निर्वाह गर्नुपर्ने कर्तव्य पूरा गर्न आएको छु । मैले यो सभाको सदस्य रहँदासम्म कहिले पनि राष्ट्रिय सभाको गरिमा र प्रतिष्ठा गिराउने कुनै क्रियाकलाप गर्ने छैन,’ गौतमले भने, ‘मैले राष्ट्रिय सभाको जिम्मेवारी पूरा गर्दा नेपालको स्वतन्त्रता, राष्ट्रियता, सार्वभौमिकता र नेपाली जनताप्रति सधैँ बफादार भएर मैले आफ्नो कर्तव्य निर्वाह गर्नेछु ।’ 

गौतमले नेपालमा समाजवाद स्थापना गर्ने नेकपाको संकल्प राष्ट्रिय सभामा रहेर पूरा गर्ने बताए ।

‘हाम्रो पार्टी (नेकपा)ले नेपालमा समाजवाद स्थापना गर्ने संकल्प गरेको छ, त्यो संकल्पबमोजिम त्यो कार्य सम्पन्न गर्नका लागि के कति भूमिका निर्वाह गर्नसक्छु, त्यो भूमिका गर्नेछु,’ गौतमले भने । 

हेर्नुहोस्, भिडियो :


गौतमले आफूलाई राष्ट्रिय सभामा सिफारिश गरेकोमा प्रधानमन्त्री केपी ओली र पार्टीलाई धन्यवाद दिए । गौतमको शपथ समारोहमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि पुगेका थिए । 

सिंहदरबारस्थित संसद् सचिवालयमा बिहीवार आयोजित समारोहमा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले गौतमलाई शपथ गराएका हुन् । आफूले पार्टी सदस्यता दिएका तिमल्सिनाबाट राष्ट्रिय सभा सदस्यको शपथ लिन पाएकोमा आफ्नो छाति फुलेको गौतमले बताए । 

नेकपा सचिवालयका ९ जना सदस्यमध्ये गौतम मात्र संसद् बाहिर थिए । राष्ट्रिय सभामा गौतमको कार्यकाल ६ वर्ष हुनेछ । 

सचिवालयका ९ मध्ये ६ जना प्रतिनिधि सभाको सदस्य छन् ।

गौतमसहित रामबहादुर थापा र नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभाको सदस्य छन् । 

राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने गौतम नेकपाको वरिष्ठ नेता हुनेछन् । अहिले राष्ट्रिय सभामा नेकपा संसदीय दलको नेता दीनानाथ शर्मा छन् ।

२०७६ फागुन २१ गते डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रिय सभामा एक सदस्य रिक्त थियो ।

गत फागुन १४ गते बसेको नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यमा नियुक्तिका लागि प्रधानमन्त्रीलाई सुझाव दिएको थियो ।

त्यसको ६ महिनापछि भदौ १८ गते सचिवालयले पुनः गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्