
काठमाडौं, २४ वैशाख — भारतको चण्डीगढका एक मेकानिकल इन्जिनियरले प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिट्ठी लेखेर आफ्नी गर्लफ्रेन्डसँग बिहे गराइदिन अपिल गरेका छन् ।

दुवै पक्षका मातापितालाई बिहेका लागि राजी गराउन स्वयंसेवक पठाउनुस् भनी उनले मोदीलाई आग्रह गरेका छन् ।
प्रधानमन्त्रीको कार्यालय दिनदिनै यस्ता हजारौं हावादारी आवेदन आइरहेका हुन्छन् । चण्डीगढबाट आउनेमध्ये ६० प्रतिशत निवेदन यस्तै हुने गरेको बताइएको छ ।
यस्तै एउटा सन्देशमा चण्डीगढ प्रहरीलाई हेलिकप्टरको सुविधा दिलाउने अपिल गरिएको थियो । हेलिकप्टर पाएपछि प्रहरीहरू घटनास्थलमा समयमै पुग्ने लेखिएको थियो ।
अर्को एक हावादारी चिट्ठीमा चाहिँ आफ्नो बगैंचाबाट कसैले विनाअनुमति फूल चोरेर लाने गरेको गुनासो गरिएको थियो । यसमा कसैले पनि आवश्यक कारवाही नगरेको आवेदनकर्ताले लेखे ।
एजेन्सी