२५ जेठ २०८३, सोमबार

विमानस्थलमा देखियो चहलपहल, पहिलो दिनको उडानमै यात्रु भरिभराउ

असोज ५, २०७७
विमानस्थलमा देखियो चहलपहल, पहिलो दिनको उडानमै यात्रु भरिभराउ

आन्तरिक उडान खुला भएसँगै पोखरा विमानस्थलमा पनि सोमवारदेखि चहलपहल शुरू भएको छ ।

कोरोना भाइरस जोखिमसँगै गत चैत ११ गतेदेखि सरकारले लागू गरेको लकडाउन र निषेधाज्ञाका कारण ६ महिनादेखि देशैभरका विमानस्थल सुनसान थिए । 

काठमाडौंबाट पोखराको लागि २ उडान भइसकेका छन् । बुद्ध एयरको जहाज ६ महिनापछि ५ बच्चासहित ५६ यात्रु बोकेर बिहान ८ः४५ बजे पहिलो पटक पोखरामा अवतरण भएको छ । 

बुद्ध एयरका पोखरास्थित स्टेसन इञ्चार्ज गौतम बरालका अनुसार कूल ७२ सिटे जहाज आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै ५६ यात्रु आएकोमा पुनः पोखरा–काठमाडौं उडानका लागि ९ः४५ बजे ५८ यात्रु बोकेर उडेको छ । यात्रुको चाप हेरेर आगामी दिनमा बिस्तारै उडान संख्या बढाउँदै जाने गौतमले बताए । 

बुद्धपछि काठमाडौंबाट पोखराका लागि यति एयरलाइन्सले उडान भरेको हो । ३० सिट क्षमतामा सबै सिट भरिएको थियो । एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार देशभर यतिले पोखरा, भद्रपुर, नेपालगञ्ज, भैरहवा, जनकपुर, भरतपुर, विराटनगर र वीरगञ्ज गरी १० उडान भर्दैछ । 

काठमाडौं–पोखरा उडान भरेका बुद्ध र यति काठमाडौं फर्किसकेकोमा दिउँसो ३ बजेपछि पुनः पोखराका लागि उडान भरेर काठमाडौं फर्किने तालिका रहेको पोखरा नागरिक उड्डयन कार्यालयका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिए । उनका अनुसार प्राधिकरणको अनुमतिसँगै कोरोना भाइरसविरुद्ध आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर उडान थालिएको हो । उनका अनुसार विगतमा हवाइजहाज, हेलिकप्टर र अल्ट्रालाइट गरी १०० वटासम्म उडान हुने गर्दथे । विमान कम्पनीबाट सरदर ४० उडान हुने गरेको थियो । जसमा काठमाडौं–पोखरा सरदर २२ देखि २५, पोखरा–जोमसोम ८ देखि १०, पोखरा–भैरहवा २, पोखरा–भरतपुर १, पोखरा–विराटनगर १ वटासम्म उडान हुने गर्दथ्यो । 

बुद्ध एयरबाट पोखरा ओर्लिएका यात्रु जितेन्द्रप्रसाद कलवारले लामो समयपछि जहाज चढ्दा नौलो अनुभूति भएको प्रतिक्रिया दिए । काठमाडौंका कलवार पोखरामा व्यापारका सिलसिलामा विगतमा पनि जहाजबाटै पोखरा आइरहन्थे ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वास्थ्य सुरक्षाका मापदण्ड निर्धारण गरी उडान गर्न एयरलाइन्सलाई अनुमति दिएसँगै करीब २५ प्रतिशत संख्यामा उडान भर्न थालिएको हो । 

विमानस्थलको भीड व्यवस्थापन तथा माग आधारमा उडानको कोटा निर्धारण गरिएको छ । उडान गर्दा यात्रुले अनिवार्य रुपमा मास्क प्रयोग गर्नुपर्नेछ । विमानस्थलभित्र ‘वास प्वाइन्ट’ राख्नुपर्ने छ भने ‘फेसशिल्ड’ समेत विमान कम्पनीले यात्रुलाई उपलब्ध गराउनुपर्नेछ । जसको लागत यात्रुको टिकटमै जोडिएको हुन्छ । 

कोरोना भाइरसको संक्रमणसँगै शुरू भएको लकडाउनले बन्द रहेको आन्तरिक तर्फको नियमित उडान खुले पनि अवस्था हेरी हाललाई न्यूनतम संख्यामा मात्रै उडान सञ्चालन गर्ने वायुसेवा कम्पनीले जनाएका छन् । 

भदौ १ गतेदेखि नै आन्तरिक तर्फका उडान खोल्ने तयारी भए पनि विमान कम्पनीले क्षमताअनुसार यात्रु बोक्न नपाउने सरकारी शर्तका कारण उडान रोकेका थिए । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजेन्द्रकुमार क्षत्रीका अनुसार यात्रु चाप भएको क्षेत्रमा उडान भर्ने गरी विमान कम्पनीले अनुमति पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्