
किसानलाई औषधिजन्य जडीबुटीको खेतीमा प्रोत्साहन एवं प्रवद्र्धन गर्न वनस्पति अनुसन्धान केन्द्रले जडीबुटीका बिरुवा निः शुल्क वितरण गर्ने भएको छ ।
पछिल्लो समय औषधिजन्य वनस्पतिको खपत बढी रहेका बेला केन्द्रले बिरुवा वितरण गर्न लागेको हो ।
केन्द्रले ७० हजार औषधिजन्य वनस्पति र ३० हजार किवीको बिरुवा वितरण गर्ने जनाएको छ । केन्द्रका नर्सरीमा अहिले १ लाख ५ हजार बिरुवा रहेका छन् ।
ती मध्येबाट १ लाख बिरुवा किसानलाई वितरण गर्ने केन्द्रले जनाएको छ । ‘हामीले कम्तिमा पनि १ लाख बिरुवा वितरण गर्छौं,’ केन्द्रका वैज्ञानिक अधिकृत जीवन पाण्डेले भने, ‘हामीले बीउ दल चाहिँ करीब १ लाख ५ हजार बिरुवा गरेका छौं । कीरा लागेमा वा रोग परेर ५ हजार जति बिरुवा मरेपनि १ लाख बिरुवा चाहिँ बाड्ने लक्ष्यमा छौं ।’
केन्द्रले असोज मसान्तसम्ममा कृषकलाई कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ । किसानका लागि वितरण गर्न केन्द्रसँग लौठ सल्ला ३० हजार, सिल टिमुर ३० हजार, तेजपत्ता १० हजार, वोक टिमुर ५ हजार र किवी ५ हजार बिरुवा रहेका छन् ।
केन्द्रको सन्दकपुर गाउँपालिकास्थित माइपोखरी वनस्पति उद्यानबाट बिरुवा वितरण गरिने छ । ‘हामीले किसान आह्वान गर्छौं । किसानको खेतबारीको स्थलगत सर्वेक्षण गरेपछि बिरुवा दिन्छौं,’ उनले भने, ‘सर्वेक्षण गर्दा उपयुक्त हावापानी भएको वारीमा बिरुवा वितरण गर्छौं ।’ किसानलाई औषधिजन्य वनस्पतिको खेतीको जानकारी र प्रोत्साहनका लागि केन्द्रले बिरुवा वितरण थालेको हो । यस वर्षको गत भदौसम्ममा मात्रै ४२ हजार बिरुवा केन्द्रले स्थानीय तहमार्फत वितरण गरेको छ ।
‘बर्सेनि बिरुवा वितरण बढिरहेको छ । अहिले आह्वान गरेको सूचना आउँदो बर्ष वितरण गर्नका लागि हो,’ पाण्डेले भने, ‘हामीले किसानलाई बिरुवा दिँदा धेरै प्रक्रिया पूरा गर्नुपर्छ । त्यही भएर १ वर्षअघि नै सूचना निकालेका हौं ।’
केन्द्रका अनुसार जिल्लाका उच्च पहाडी क्षेत्रमा वहुमूल्य वनस्पति लगाउन अझै किसानमा सचेतनाका कार्यक्रम नभएकाले प्रोत्साहन स्वरुप कार्यक्रम ल्याइएको हो । यस्ता वनस्पतिको बजार राम्रो भए पनि जिल्लामा कम मात्र खेती गरिँदैछ ।