
काठमाडौं, २४ वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानन्यायाधीश सुशीला कार्कीबीच दुई घण्टा लामो छलफल भएको छ । बाहिर प्रचार गरिएजस्तो प्रधानन्यायाधीशले राजीनामा दिएको वा लामो विदामा बस्ने बारेमा कुनै निर्णय नभएको स्रोतले दावी गरेको छ ।
भेट ५ देखि ७ बजेसम्म चलेको थियो । राष्ट्रपति र प्रधानन्यायाधीशबीचको वार्तामा अरुलाई संलग्न नगराइएको स्रोतको दावी छ ।
वैशाख २६ गते कानुन दिवस परेको र त्यस सन्दर्भमा समेत छलफल भएको स्रोतको दावी छ । प्रधानन्यायाधीशले राष्ट्रपतिलाई कानून दिवसको निम्ता दिएको स्रोतले बतायो ।
संसदमा प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोग प्रस्ताव विचराधीन अवस्थामा छ । यही बीचमा सर्वोच्चले काममा फर्कन आदेश दिएपछि कार्की आइतबारदेखि सर्वोच्चमा फर्केकी थिइन् ।