२८ जेठ २०८३, बिहीबार

हराएको  लाईसेन्सको सिफारिस बनाउन ट्राफिक कार्यालय धाउनुनपर्ने,  आजदेखि अनलाईनबाटै फर्म भर्न सकिने

हराएको  लाईसेन्सको सिफारिस बनाउन ट्राफिक कार्यालय धाउनुनपर्ने,  आजदेखि अनलाईनबाटै फर्म भर्न सकिने

हराएको सवारी चालक अनुमति पत्र (लाईसेन्स), सवारी दर्ता किताव र सवारी ईजाजत पत्रको सिफारिस लिनका लागि ट्राफिक कार्यालय धाउनुपर्ने बाध्यताको ट्राफिक महाशाखाले अन्त्य गरेको छ ।

अब घरबाटै अनलाइन फाराम भरेर सेवाग्राहीले उक्त सिफारिस बनाउन सक्नेछन् ।

ट्राफिक महाशाखाबाट दिने सेवालाई थप प्रविधिमैत्री बनाउन, सेवाग्राहीलाई थप सहज र सरल बनाउन तथा कोभिड १९ माहामारीको विषम परिस्थितलाई पनि मध्येनजर गर्दै प्रहरी प्रधान कार्यालयको सहयोगमा आजैबाट यस्तो व्यवस्थाको शुरुवात महाशाखाले गरेको छ । 

महाशाखाका प्रमुख एसएसपी भिम ढकालले हराएको लाईसेन्स, बिलबुक र पर्मिटको लागि धेरै दिन लगाएर सेवाग्राही ट्राफिक प्रहरी कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गरिएको बताए ।

उनले दैनिक दुई सयको हाराहारीमा सेवाग्राहीले महाशाखामा हराएको सिफारिसको लागि आवेदन दिने गरेको जानकारी समेत दिए । यो प्रणाली सुरु भएसँगै ट्राफिक कार्यालय गएर लाइन बसेर निवेदन दिने र सिफारिस रिपोर्ट लिने दिनको अन्त्य भएको छ र सेवाग्राहीले घरमै बसेर सिफारिस रिपोर्ट लिन सकिने बताए ।

सिफारिस रिपोर्ट आवश्यक पर्ने व्यक्तिले अब ट्राफिक प्रहरीको वेबसाइट traffic.nepalpolice.gov.np मा गएर फर्म भर्नुपर्ने हुन्छ । वेबसाइट खोलेपछि दायाँतर्फ लस्ट डकुमेन्टस एप्लिकेसन (Lost Document Application) मा क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि माग भएबमोजिम सेवाग्राहीले आफ्नो विवरण भर्नुपर्ने हुन्छ ।


यस्तै, सेवाग्राहीले एप्लिकेसनमा क्लिक गरेपछि कुन हराएको डकुमेन्ट्सको सिफारिस आवश्यक परेको हो त्यो सेलेक्ट गर्नुपर्नेछ । त्यसपछि निवेदकको नाम फोन नम्बर, ठेगाना र आफ्नो परिचय खुल्ने नागरिकता वा लाईसेन्स वा पासपोर्टको फाईल वा स्क्यान कपि सेवाग्राहीले अनलाइन प्रणालीबाटै दिनुपर्ने हुन्छ ।
 

माग भएअनुसार सबै विवरण सब्मिट (Submit) वा भरिसकेपछि सेवाग्राहीलाई एप्लिकेसन नम्बर प्राप्त हुन्छ । सेवाग्राहीले अनलाइनबाट फाराम भरेको २४ घण्टापछि सिफारिस पाप्त गर्न वा लिन सक्नेछन ।

यसको लागि सेवाग्राहीले उक्त एप्लिकेसनमा रहेको चेक एप्लिकेसनमा क्लिक गरी दिएको एप्लिकेसन नम्बर, पुरा नामथर र डकुमेन्ट्स नम्बर राखेर सिफारिस रिपोर्ट लिन सक्नेछन र उक्त सिफरिस रिपोर्टको प्रिन्ट लिएर यातायात कार्यालयमा गई आफ्नो लाईसेन्स वा सवारीको डकुमेन्ट बनाउन सकिनेछ ।

salt training

कमेन्ट गर्नुहोस्