
तिनाउ नदी उलिँदा बुटवल आसपासको क्षेत्रमा जोखिम बढेको छ ।
बाढीले खतराको तह पार गरेपछि बुटवल–११ को मजुवा र बुद्धनगर क्षेत्रका कटान गर्न थालेको छ ।
अहिले पनि यस क्षेत्रमा पानी भारी मात्रामा परिरहेको छ । बुटवल उपमहानगरपालिका–११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीले बुद्धनगर र मजुवा क्षेत्रको नदी उकास क्षेत्रको बाटो समेत खस्ने गरी कटान थालेको जानकारी दिए ।
‘बिहानी हामी नगर प्रमुख शिवराज सुवेदी, योजना प्रमुख समुन श्रेष्ठ सहितको टोलीले निरीक्षण गरेका छौं । त्यस आसपासका बस्तीलाई सुरक्षित अवस्था हेरेर सुरक्षित स्थानमा जान आग्रह गरेका छौं,’ अध्यक्ष क्षेत्रीले भने । बुटवल वडा नम्बर १७ का केही ठाउँ पनि बाढीले कटान गरेको छ ।
पानी बाँडफाँड गर्ने ठोकरलाई समेत नदीले केही तल खसालेको छ । तिनाउको नदी उकास क्षेत्रमा झण्डै २ हजार परिवार छन् । ३ दिनदेखिको झरीले असुरक्षित क्षेत्रमा बस्नेहरू घर नै छाडेर हिँड्नुपर्ने अवस्थामा पुगेको छन् ।

जनप्रतिनिधि नआउँदै सार्वजनिक जग्गा कब्जा गरी जोखिमपूर्ण क्षेत्रमा बस्ती भरिएको छ । तिनाउ नदीको बाढीको पूर्व सूचना प्रणालीका संयोजक सन्तोष सेरचनले बाढीले बाढीले खतराको तह पार गरेकाले साइरन बजाइएको बताए ।
तिनाउ नदी चुरेबाट भेल लिएर बग्ने हुँदा तटीय क्षेत्रमा ठूलो जोखिम छ । ‘अझै शिद्धबाबा क्षेत्रमा पहिरोले नदी थुनिने अवस्था आयो भने त्यसले पुर्याउने क्षतिको कल्पना समेत गर्न सकिँदैन,’ उनले भने ।