१२ असार २०८३, शुक्रबार

बलात्कृत किशोरीलाई १२ लाखको प्रलोभन

असोज ९, २०७७
बलात्कृत किशोरीलाई १२ लाखको प्रलोभन

सामूहिक बलात्कारमा परेकी धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुरकी १५ वर्षीया किशोरीले घटना लुकाउन पैसाको ‘अफर’ नस्विकारेपछि उनको परिवारलाई ज्यान मार्ने धम्की दिन थालिएको छ ।

बलात्कारमा संलग्नहरूका परिवारले १२ लाख रुपैयाँ एकमुष्ट दिएर मुद्दा गाउँमै मिलाउन विभिन्न माध्यमबाट दबाब दिइरहेको पीडित परिवारले जनाएको छ । राजनीतिक दलका नेतासहित ८ जनाको समूहले फकिरचन्द्र गामी मावि, बरकुर्वामा गत बिहीबार घटना मिलाउन पञ्चायती नै राखेको थियो ।

करिब एक महिनाअघि चार जनाले बलात्कार गरेको पीडितको भनाइ छ । पीडितका आमा–बुबा र उनकै एक आफन्तलाई बोलाएर सुरुमा बलात्कार गर्नेहरूबाटै प्रतिव्यक्ति एक लाख रुपैयाँ दिने प्रस्ताव गरिएको थियो ।

पीडितकी आमाका अनुसार आफूहरू मिल्न नमानेपछि रकम बढाउँदै सत्यनारायण यादवले प्रतिव्यक्ति ३ लाखका दरले संकलन गरी १२ लाख रुपैयाँ दिने प्रस्ताव गरेका थिए । यादवले अरू ८ लाखजति प्रहरी र अदालतमा खर्च हुने र त्यो रकम आफूहरूले नै तिर्ने बताएका थिए ।

बलात्कारका आरोपितहरूले नमिले गाउँमा बस्न नदिने चेतावनीसमेत दिएको पीडितकी आमाले सुनाइन् । ‘बुबा–आमालाई पैसा लिन दबाब दिँदै छन् । पैसा नलिए ज्यान मार्ने भनेर धम्क्याइरहेका छन्,’ पीडित किशोरीले भनिन्, ‘घरबाहिर जाँदा पनि नचिनिएका मानिसहरूले पछ्याउँछन् ।’

बलात्कार आरोपमा दुई जना पुर्पक्षका लागि कारागारमा छन् । सहयोगीसहित ६ जना अझै फरार रहेको र उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले बताए । पीडित परिवारले भने घटना भएको एक महिनाभन्दा बढी हुँदासमेत प्रहरीले सबैलाई पक्राउ गर्न नसकेको गुनासो गरेको छ ।

‘उनीहरू (आरोपित) गाउँघरमै घुमिरहेका छन् भनेर प्रहरीलाई धेरैपटक जानकारी दियौं,’ पीडितकी आमाले भनिन्, ‘तर पक्राउ गर्न प्रहरीले पहल गरेको छैन ।’ जिल्ला प्रहरी प्रवक्ता मिश्रले पीडित परिवारलाई पैसाको अफर गरिएको र ज्यान लिने धम्की दिइएको विषयमा जानकारी नआएको बताए ।

धनुषाधाम–९ सयबिग्हास्थित दिदीको घरमा बिहे भोज खान गएकी किशोरीलाई भदौ १ गते साँझ करिब ६ बजे रघुनाथपुर फर्किंदै गर्दा धर्मपुरनजिक १४–१५ जना युवाले घेराउ गरेका थिए ।

किशोरीसँगै रहेका दुई युवालाई उक्त समूहले कुटपिट गर्दै सडकमा बन्धक बनाएपछि किशोरीलाई करिब ३ किलोमिटर पर लगेर चार जनाले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

ती युवाले आफ्नो भिडियोसमेत खिचेको र बलात्कारको कुरा सार्वजनिक गरे भिडियो फेसबुकमा राखिदिने र ज्यान मार्ने धम्कीसमेत दिएको पीडितले बताइन् । पीडित दलित समुदायकी हुन् । कान्तिपुर दैनिकमा सन्तोष सिंहले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्